Breaking News.... EverestOnlineKhabar
May 11, 2026

काठमाडौँ कांग्रेसमा ‘शक्ति संघर्ष’: जिल्ला सभापति र क्षेत्र नं १ विशेष महाधिवेशनको पक्षमा, ७ क्षेत्र विपक्षमा

Loading

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्किएसँगै राजधानी काठमाडौँको पार्टी राजनीतिमा ठुलो उलटफेर देखिएको छ। कुनै समय नेता प्रकाशमान सिंहको ‘गढ’ मानिने काठमाडौँमा अहिले जिल्ला नेतृत्व र क्षेत्रीय नेतृत्वबीच स्पष्ट विभाजन देखिएको छ।

फेरियो समीकरण,सिंहका पूर्व सहयोगी नै विपक्षमा
काठमाडौँ कांग्रेसको राजनीतिमा सबैभन्दा रोचक पक्ष जिल्ला सभापति सबुज बानियाँ र क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रकाश विक्रम राणाको भूमिका देखिएको छ। विगतमा नेता प्रकाशमान सिंहका अत्यन्त निकट मानिने बानियाँ र राणा अहिले सिंहको कित्ता छोडेर विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका छन्।

प्रकाशमान सिंहले लगातार चार पटक चुनाव जितेको क्षेत्र नं. १ का निर्विरोध निर्वाचित सभापति राणा र जिल्ला सभापति बानियाँले विशेष महाधिवेशनका लागि लबिइङ सुरु गरेपछि काठमाडौँ कांग्रेसभित्र हलचल पैदा भएको छ।

१० मध्ये ७ क्षेत्रीय सभापति नियमित महाधिवेशनकै पक्षमा
जिल्ला सभापति र क्षेत्र नं. १ विशेष महाधिवेशनको पक्षमा उभिए पनि काठमाडौँका अधिकांश क्षेत्रीय सभापतिहरू भने त्यसको विपक्षमा छन्। १० वटा निर्वाचन क्षेत्रमध्ये ७ वटाका क्षेत्रीय सभापति र काठमाडौँ महानगर सभापतिले नियमित महाधिवेशन नै हुनुपर्ने अडान राखेका छन्। उनीहरूले अहिलेको अवस्थामा विशेष महाधिवेशन भन्दा विधान अनुसारको नियमित प्रक्रिया नै उपयुक्त हुने तर्क गरेका छन्।

काठमाडौँ कांग्रेसमा दुई धार
यो नयाँ घटनाक्रमले काठमाडौँ कांग्रेसमा दुईवटा स्पष्ट धार देखाएको छ:

१. विशेष महाधिवेशन पक्षधर: जिल्ला सभापति सबुज बानियाँ, क्षेत्र नं. १ का सभापति प्रकाश विक्रम राणा लगायत (जो अहिले प्रकाशमान सिंहको लाइनभन्दा बाहिर देखिएका छन्)।

२. नियमित महाधिवेशन पक्षधर: १० मध्ये ७ जना क्षेत्रीय सभापति र महानगर सभापति (जसले संस्थापन र सिंह पक्षको समन्वयमा नियमित अधिवेशन चाहेका छन्)।

नेता प्रकाशमान सिंहको आफ्नै निर्वाचन क्षेत्र (क्षेत्र नं. १) का सभापतिले नै विशेष महाधिवेशनको एजेण्डा बोक्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसले काठमाडौँमा सिंहको पकड कमजोर हुँदै गएको हो वा नयाँ शक्ति समीकरण बन्दैछ भन्ने प्रश्न उब्जाएको छ। उता ७ जना क्षेत्रीय सभापतिहरूले भने पार्टीलाई अस्थिरताबाट जोगाउन नियमित महाधिवेशन नै उत्तम विकल्प भएको बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.