Breaking News.... EverestOnlineKhabar
April 19, 2026

माओवादीले केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशन गर्ने

Loading

काठमाडौँ,असाेज ८— माओवादी केन्द्रले हालको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने, सोको संयोजन स्वयं अध्यक्षले गर्ने र प्रस्ताव लैजाने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘पार्टीभित्र एकता कायम गर्न र वर्तमान परिस्थितिको मागअनुरूप केन्द्रीय समिति भंग गरी अध्यक्षकै संयोजनमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय भएको छ । साथै विशेष महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि गरिएको छ,’ प्रवक्ता सापकोटाले भने ।

यससम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादी केन्द्रले यही असोज ९ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले पदाधिकारी बैठकको प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ । हालैको जेनजी आन्दोलनपछि राजनीतिक दलमा पुस्तान्तरणको दबाव बढिरहेको सन्दर्भमा यो कदम अघि सारिएको हो । बैठकले घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । सरकारले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते गर्ने घोषणा गरिसकेको छ ।

यस्तै, माओवादी केन्द्रले जेनजीसहित लोकतान्त्रिक र अग्रगामी शक्तिहरूसँग वार्ता र समझदारी कायम गर्ने, समाजवादी मोर्चा तथा समान विचारधारासँग एकता गर्ने र वृहत मोर्चा निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ ।

‘परिस्थिति तीव्र गतिमा बदलिँदै गइरहेको छ । यस्तो अवस्थामा परिवर्तनकारी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्छ भन्ने बैठकको निष्कर्ष छ । जेनजी पुस्ताले उठाएका मागहरू जायज भए पनि त्यसलाई विशेष परिस्थितिको प्रभाव मान्दै अग्रगमन पक्षधर शक्तिको एकताबद्ध प्रयास अपरिहार्य देखिन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed