Breaking News.... EverestOnlineKhabar
September 26, 2026

Loading

२०७६ फागुन २८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले कहिल्यै पनि पार्टी नफुटाउने प्रतिवद्धता जनाएका छन् । राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा बुधबार उनले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरे । ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्नँ’ उनले भने । पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतिज्ञा गरिसकेको भन्दै थापाले आफू पनि पार्टी नफुटाउने बताए । अध्यक्ष थापाले यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने पनि बताए । ‘ विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरुका बीचमा राख्ने छैन’ उनले भने ।

थापाले अगाडि भने ‘विगतका आग्रह पूर्वाग्रहबाट माथि उठौं, एक अर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावना अनुसार दृढताका साथ अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।’ विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गरे । ‘एकता हुन पाएको छैन फुट्छ कि भन्ने चिन्ता छाड्नुस्, यो नकारात्मक सोच राख्ने हो भने हामी शिथिल हुन्छौं । अब फुट्न दिन्नौं भनेर अघि बढ्नुपर्छ’ थापाले भने । थापाले कार्यकर्तालाई पनि व्यक्तिको पछाडि लाग्न छाडेर विचारको पछाडि लाग्न आग्रह गरे ।

ब्रम्हलुटमा कांग्रेसको पनि मिलेमतो

राप्रपा अध्यक्ष थापाले अहिले नीतिगत र संस्थागत भ्रष्टाचार मौलाएको भन्दै त्यसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पनि सहभागी भएको बताए । आफ्नो स्वार्थका निमित्त कानून बाधक भयो भने बहुमतको आधारमा कानून नै परिवर्तन गर्ने, सार्वजनिक खरिदका विषयलाई पनि मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराउने र सार्वजनिक निकायलाई पार्टीकरण गरिएको भन्दै उनले आपत्ति जनाए । ‘अहिले नीतिगत र संस्थागत भ्रष्टाचार मौलाएको छ ।

यो ब्रम्हलुटमा सत्तारुढ मात्र छैन, प्रमुख मतियारको रुपमा प्रतिपक्षी नेपाली कांग्रेस पनि उत्तिकै सहभागी भएको छ’ उनले भने । यस्ता घटनाबाट निराश नेपाली जनतालाई राप्रपाले विश्वास जगाउने थापाले दावी गरे । ‘राप्रपालाई भरोसा गर्नुहोस्, भ्रष्टाचारमा मुछिएकालाई कानूनको कठघरमा उभ्याउछौं, काम नपाएर मलेसिया र अरबमा पसिना बगाउनेलाई केही वर्षभित्र नेपाल फर्काउँछौं ।’ अहिले नेपाली जनता कांग्रेस र कम्युनिस्टबाट वाक्क भएकाहरुले अब भोट हाल्ने ठाउँको रुपमा राप्रपालाई पाएको थापाले बताए । उनले राप्रपा परिवर्तनविरोधी शक्ति नभएको पनि जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed