![]()
अस्ट्रेलियामा सम्पन्न सातौँ संस्करणको महिला टी ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनल खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतलाई ८५ रनले हराउँदै उपाधि जितेको हो । मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा अलआउट हुँदै ९९ रन मात्र बनायो । भारतका लागि दीप्ती शर्माले ३३ रन बनाइन् भने बेदा कृष्णमूर्तिले १९ रन बनाइन् । यसैगरी स्मृति मन्धनाले ११ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । अस्ट्रेलियाका लागि एलिजा हिलीले ७५ रन बनाइन् भने मेग लानिङले १६ रन जोडिन् । बलिङमा भारतकी दिप्ती शर्माले दुई विकेट लिइन् भने पुनम यादवले एक विकेट लिइन् । महिला क्रिकेट विश्वकपको फाइनलमा पहिलो पटक पुगेको भारत विश्वकप जित्ने सपना पुरा हुन सकेन भने अस्ट्रेलियाले योसँगै पाँचौं पटक महिला विश्वकप उपाधि जितेको छ ।


