Breaking News.... EverestOnlineKhabar
April 20, 2026

सडक फराकिलो बनाउन आफ्नै घर भत्काउँदैछन् दाङवासी

Loading

२०७६ फागुन १९, दाङ । सडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन् । तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न शुरु गरेपछि सोही टोलका बासिन्दाले आफैं घर भत्काउन थालेका हुन् । प्राधिकरणले सो क्षेत्रमा सडक कालोपत्र गर्नका लागि ज्ञानज्योति मार्गमा ३०० मिटर सडक विस्तार गर्न लागेको वडाध्यक्ष नवराज लामिछानेले बताए । उनका अनुसार ५० वटा घर भत्काइएको छ ।

’विकास प्राधिकरणअन्तर्गत वडा नं ६ को त्यस क्षेत्रमा सडक विस्तार गर्ने योजना थियो’, उनले भने, ’सोहीअनुसार त्यहाँका बासिन्दाले आफ्नै सक्रियतामा घर भत्काउन थालिएको छ ।’ पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरणको काम अघि बढाएको छ । प्राधिकरणअन्तर्गत अहिले सडक ग्राभेलको कामलाई तीव्रताका साथ अघि बढाएको हो । उपमहानगरपालिकाले यस वर्ष ५७ किलोमिटर सडक कालोपत्र गर्ने कामलाई अघि बढाएको छ। अहिलेसम्म तुलसीपुरका १२ वटा वडामा ग्राभेलको काम पूरा भइसकेको छ, भने सात वटा वडामा ग्राभेलको काम भइरहेको इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, ३, ६, ८, ९, १२, १४, १५, १६, १७, १८ मा ग्राबेलको काम पूरा भइसकेको छ । तुलसीपुर उपमहानगरपालिका– १ मा वडा कार्यालय अगाडिको बाटो र मनकामना मन्दिर (देव स्थान) जाने बाटो, वडा नं. २ को खैरीपुर, मनिकापुरलगायत ठाउँमा, वडा नं. ३ को भट्टे, दमारगाउँ, राणागाउँ, वडा नं. ६ को ६ स्थान, वडा नं. १४ को लुहाडबरा, वडा नं. १५ को ढमक्कापुर र वडा नं. ८ तथा १६ मा ग्राबेलको काम सम्पन्न भएको छ । यसैगरी वडा नं ४, ५, ७, १०, १९, ११ र १३ मा अहिले ग्राबेलको काम जारी रहेको छ। बाँकी वडामा पनि अबको केही समयमा काम पूरा हुने बताइएको छ । ग्राभेलको काम पूरा भएसँगै कालोपत्र गर्ने काम शुरु हुने उहाँको भनाइ छ ।

प्राधिकरणले प्रत्येक वडामा तीनरतीन किलोमिटरको दरले कालोपत्र गर्ने भएको छ । २२ करोड रुपैयाँ लागतमा प्राधिकरणले कालोपत्रलगायतको काम गरिरहेको छ । जसअन्तर्गत इक्युप्मेन्ट खरिदका लागि पाँच करोड रुपैयाँ बजेट छुटाइएको योगीले बताए । इक्युप्मेन्टअन्तर्गत स्काभेटर, हप्मिक्स, पलान्ट, ग्रेडर, रोलर र बिटुमेन स्पेड्रर खरिद गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ । त्यस्तै, स्काभेटर खरिदका लागि कन्टिन्मेटन ट्रेडिङ इन्टरप्राइजरले जिम्मा लिएको छ भने उक्त सामग्री खरिद गर्नका लागि एक करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै, हप्मिक्स पलान्ट र ग्रेडरको जिम्मा वल्र्ड वाइड ट्रेडिङ कम्पनी प्रालिले पाएको छ ।

जसअन्तर्गत हप्मिक्स पलान्टको लागि ५० लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ भने ग्रेडरका लागि एक करोड ४९ लाख ७० हजार रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै, रोलर खरिदका लागि ३४ लाख ९९ हजार रुपैयाँ बजेट छुट्याइएको छ भने यसको जिम्मा जग्दम्बा कन्ट्रक्सन सोलुसन प्रालिले लिएको छ । बिटुमेन स्प्रेड्रर खरिदका लागि ६३ लाख ७० हजार रुपैयाँ बजेट छुट्याइएको छ, भने यसको खरिदका लागि स्यानो इन्टरनेसनल प्रालिले जिम्मा लिएको छ । तुलसीपुरका ठूला विकास पूर्वाधारका काम गर्नका लागि प्राधिकरण गठन गरिएको हो । प्राधिकरणले कामलाई धमाधम अघि बढाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed