![]()
२०७६ फागुन १६, काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको युवा भातृ संगठन तरुण दलले पुस्तकमाथि कर लगाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्धारा शुक्रबार जारी विज्ञप्तिमा लगातार काण्डै काण्डमा फसिरहेको ओली सरकारले पुस्तकमाथि कर लगाएर ज्ञानको भण्डारमाथि आक्रमण गरेको उल्लेख छ । जनताविरुद्ध सरकारले गर्ने अन्यायका विरुद्ध आफूहरु उभिने भन्दै तरुण दलले पुस्तकमाथि कर लगाउने निर्णय फिर्ता नभए सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
‘नेपालकी छोरी निर्मला पन्तको बलात्कारपछिको हत्या गर्ने हत्यारादेखि अर्बौंको भ्रष्टाचार गर्नेलाई संरक्षण दिन पछि नपर्ने सरकार यती काण्ड, वाइडबडी, कर वृद्धि काण्ड, न्यारो बडी र हेलिकप्टर चार्टरसहित करोडौं खर्च गरी जन्मदिन मनाएको काण्ड पछिल्लो समय ओली सरकारको एक काण्ड थपिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह, प्रदेश र केन्द्रमा भ्रष्टाचारमा लिप्त भएको ओली सरकारले पछिल्लो समय मानिसको ज्ञानको भण्डारको रुपमा बिश्वले नै मानेको पुस्तकमा अनावश्यक कर बृद्धि गर्नुले बिद्यार्थीहरुमा पुस्तकको मुल्य बृद्धी भई पठनपाठन महंगो हुनुका साथै शिक्षा क्षेत्रमा धान्नै नसक्ने गरी जनतालाई पीँडा थपिदिएको तरुण दलले महशुस गरेको छ ।’


