Breaking News.... EverestOnlineKhabar
April 21, 2026

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता, प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव

Loading

२०७६ फागुन १५, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । दुवै नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टासम्म छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीसँगको भेटपछि डा. कोइरालाले भने, ‘पछिल्लो समयका विभिन्न प्रकरणले सरकारका विषयमा धेरै प्रश्न उठेका छन् । यस्तो अवस्थामा तपाईंले राजीनामा दिनु उपयुक्त हुन्छ भन्ने सल्लाह दिएँ । जवाफमा उहाँले प्रतिपक्षीको भूमिका म बुझ्छु भन्नुभयो ।’ प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट आफूविरुद्ध विभिन्न षड्यन्त्रहरु भइरहेको भन्दै दुखेसो पोखेको पनि कोइरालाले सुनाए ।

भेटका क्रममा प्रधानमन्त्री ओली चिन्तित देखिएका पनि कोइरालाको भनाइ छ । ‘मुलुकप्रति उहाँको चिन्ता देखियो । अझै पनि सहकार्यबाटै मुलुकलाई समृद्धितर्फ लैजान सकिन्छ भन्नेमा नै उहाँले जोड दिनुभयो,’ कोइरालाले भने । कांग्रेस नेता कोइरालाले कुनै एक जना व्यक्तिका लागि संविधान संशोधन गर्ने कुरा उपयुक्त नहुने सुझाव आफूले प्रधानमन्त्रीलाई दिएको बताए । बुधबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका हालका अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि सकिन लाग्दा उनको ठाउँमा गौतमलाई नियुक्तिका लागि सिफरिस गर्न अनुरोध गर्ने नेकपाले निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले भने आफूलाई घेराबन्दी गर्नेगरी गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिसका लागि अनुरोध गर्ने निर्णय भएको भन्दै त्यसलाई नमान्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed