![]()
२०७६ माघ २२, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७९ रनमा समेटियो । शरद भेषवाकरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि नेपालले जित निकाल्न सकेन । यस्तै दिपेन्द्र सिंह ऐरीले ३६ रन जोड्दा सन्दीप लामिछानेले २८ रन बनाए ।
यस्तै विनोद भण्डारीले २६ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा पारस खड्का ३ रनमा पेभेलियन फर्किए । सुशन भारी ८ रनमा आउट हुँदा अविनाश बोहोरा ८ रनमा अविजित रहे । आरिफ शेख ६ रनमा आउट हुँदा रोहित कुमार पौडेल र करण केसी सुन्य रनमा आउट भए । ओमानका जिशन मक्सुदले ३ विकेट लिए । यस्तै बिलाल खान र कलिमउल्लाले समान २–२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले । उनले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए । त्यस्तै ओमानका अकिब अयासले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालका करण केसीले ४ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे । सन्दीप लामिछाने भने विकेट विहीन बनेका छन् ।


