![]()
२०७६ माघ २० काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संस्था नेपाल विद्यार्थी संघमा दुई जना उपसभापति मनोनित गरेका छन् । केन्द्रीय कार्यसमितिले दिएको जिम्मेवारीअनुसार सभापति देउवाले आइतबार झापाकी तुलसा पन्त र रूपन्देहीका मुक्तिराज पौडेललाई उपसभापति मनोनित गरेका हुन् । यस्तै नेविसंघमा पाँच जना महामन्त्री थपिएको छ । तनहुँका दिपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमिल्सीना र स्याङ्जाका युवराज पाण्डे महामन्त्री मनोनित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यीमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट भट्टराई, थपलिया र दाहाल महामन्त्री भएका हुन् । भट्टराई ११ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । थपलिया निवर्तमान उपसभापति हुन् । दाहाल मकवानपुरमा कांग्रेसकै राजनीति गर्छन् । दाहाल पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । अब नेविसंघ तदर्थ समिति दश सदस्यीय पुगेको छ । नेताहरूबीच नेविसंघमा नौ जना महामन्त्री राख्ने सहमति छ । अब दुई जना महामन्त्री मनोनित गर्न बाँकी छ ।
सभापति देउवाले माघ १६ गते नेविसंघ अध्यक्षमा महासमिति सदस्यसमेत रहेका सुनसरीका राजीव ढुंगानालाई मनोनित गरेका छन् । काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर पनि महामन्त्री मनोनित भइसकेका छन् । नेविसंघमा छ जना सहमहामन्त्री राख्ने नेताहरूबीच सहमति भए पनि अहिलेसम्म कसैलाई मनोनित गरिएको छैन । छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिएर तदर्थ समिति बनाइएको कांग्रेसले जनाएको छ ।


