![]()
लगातार ६ सुपरहिट फिल्म दिइसकेकी बलिउड स्टार भूमि पेडणेकर अहिले हरेक फिल्मबाट दर्शकको मन जितिरहेकी छन् । पहिलो फिल्मदेखि अहिलेसम्म उनको र आयुष्मान खुरानाको जोडीले बक्सअफिसमा कमाल गरेको छ । यसबीच, फेरि एकपटक नयाँ फिल्ममा यी दुईको जोडी बाँधिएको छ । फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ मा उनीहरु एकसाथ देखिन लागेका हुन् । ‘शुभ मंगल सावधान’ मा धमाकेदार परफर्मेन्सपछि भूमि फिल्मको दोस्रो भागमा पनि सामेल भएर फ्रेन्चाइजीसँग आफ्नो साझेदारी जारी राख्दैछिन् ।
फिल्मको दोस्रो भागमा उनी एक विशेष रुपमा देखिने बताइएको छ, जुन पछिल्लो फिल्मको तुलनामा निकै अलग हुनेछ । ‘शुभ मंगल ज्यादा सावधान’ मा अनुबन्ध भएपछि भूमिले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएकी छन् । भूमिलाई फिल्ममा लिनुको कारण खुलाउँदै निर्माता आनन्द एल. रायले भने, ‘भूमि ‘शुभ मंगल सावधान’ परिवारको हिस्सा हुन् र उनको बिना हामी ‘शुभ मंगल ज्यादा सावधान’ बनाउने सोच्न पनि सक्दैनौं । फिल्ममा उनी विशेष भूमिकामा देखिँदैछिन् । फिल्ममा उनलाई दोर्होयाउन पाउँदा हामी निकै खुसी छौं ।’ २१ फेब्रअरीमा रिलिज हुने फिल्मलाई हितेश केवल्यले निर्देशन गर्दैछन् ।
आयुष्मान र भूमिको जोडी बक्सअफिसमा निकै हिट मानिन्छ । यी दुईको जोडी बाँधिएको सबै फिल्मले हिटको व्यापार गरेका छन् । उनीहरु पछिल्लो पटक फिल्म ‘बाला’ मा देखिएका थिए । यो फिल्मले बक्सअफिसमा डेढ सय करोडको व्यापार गरेको थियो । ‘बाला’ आयुष्मान खुरानाको करिअरको तेस्रो सय करोड फिल्म हो । साथै, उनको यो लगातार सातौं हिट फिल्म पनि हो ।


