![]()
२०७६ पुस १६, महोत्तरी । दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् । सोमबार यता हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै र क्रमशः पारिलो घाम लाग्दै गएपछि यहाँको जनजीवन सामान्य हुँदै गएको हो । गत मङ्सिर २७ गते रातभरि पानी परेपछि एक्कासि बढेको जाडोले महोत्तरीसहित मध्यपूर्वी तराईको जनजीवन निकै कष्टकर बनेको थियो ।
सोमबार मध्याह्न पारिलो घाम देखिएयता लगातार मौसम सफा हुँदै गएको छ । चिसो स्याँठ र राति तुषारो पर्न छाडेपछि जाडो निकै घटेको यहाँका सर्वसाधारणले बताएका छन् । आज बिहानै घाम देखिएपछि अन्तर्राष्ट्रिय प्रचलनको इश्वी संवत्को नयाँ वर्ष मनाउनेको चहलपहल जताततै देखिएको छ । यसपालि महोत्तरीमा गत शनिबार सबैभन्दा चिसो बढेको थियो । सो दिन महोत्तरी, धनुषा, सिरहा र सर्लाहीसहितका जिल्लामा तापक्रम चार डिग्री सेल्सियसभन्दा तल झरेको जनकपुर विमानस्थलको तापमापन सूचना केन्द्रले जनाएको थियो । रासस


