![]()
२०७६ पुस १०, काठमाडौं । विराटनगर टाइटन्स नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब विराटनगरले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ । फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा विराटनगरले बिहीवार भएको इलिमिनेटरमा बुटवल ब्लास्टरलाई २१ रनले हरायो । बुटवलमाथि उसको यो लगातार जित हो । बुटवललाई नै ठूलो अन्तरले हराएर बिराटनगरले इलिमिनेटरमास्थान पक्का गरेको थियो । फाइनल प्रवेशका लागि विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।
उसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ५४ बलमा २ छक्का र ६ चौकाको मद्दले ६१ रन बनाएर आउट भएका थिए । सुरुदेखि सुस्त खेलेका धमलाले पछाडि केही आक्रामक सट खेल्दै आफ्नो रनरेट सुधारेका थिए । पाचौं नम्बरमा आएका कप्तान प्रदीप ऐरीले महत्वपूर्ण म्याचमा महत्वपूर्ण योगदान दिए । उनले केवल १३ बलमा ४ छक्का र एक चौकासहित अविजित ३३ रन हान्दै बिराटनगरलाई उकासेका थिए ।
त्यसअघि ओपनर मोहम्मद जैद आलम र धमलाबीच पहिलो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । जैद १३ बलमा २० रन हान्दै रनआउट भएपछि तेस्रो नम्बरमा आएका लोकेश बमले २ छक्कासहित १७ बलमा १९ रन हिर्काए । यसैगरी पुनि महराले पनि २१ बलमा १९ रन बनाए । नोमन खान खाता नखोली आउट भए । बुटबलका लागि हार्स टङ्कले दुई विकेट लिएका थिए । अविनाश बोहरा र ललित सिंह भण्डारीले १–१ विकेट बाँडे । कप्तान सोमपाल कामीले विकेट लिन सकेनन् । ३ ओभर मात्र बलिङ गरेका उनले २२ रन खर्चेका थिए ।


