![]()
मड्रिड,फागुन ।
स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता रियल मड्रिड विजयी भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले १० खेलाडीमा सिमित गेटाफेलाई ३ – १ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै एक गोल ग्यारेथ बेलको नाममा रह्यो । गेटाफेका फ्रान्सिस्को पोर्टइल्लोले एक गोल फर्काए ।
सान्टियागो बर्नेबेउमा खेलको २४ औं मिनेटमा बेलले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत पहिलो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड २ – ० ले अघि रह्यो ।
खेलको ४७ औं मिनेटमा गेटाफे १० खेलाडीमा सीमित भयो । लोइक रिमी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा समेटिएको थियो । गेटाफे १० खेलाडीमा समेटिए पनि एक गोल फर्काउन सफल भयो । खेलको ६५ औं मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै खेल २ – १ मा ल्याए । तर, खेलको ७८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ३ – १ ले विजयी भयो ।
गेटाफेमाथी दुई गोल गरेसँगै रोनाल्डोले घरेलु मैदानमा आफ्नो ३ सयौं गोल पुरा गरे । यो जितपछि तेस्रो स्थानको रियल मड्रिडले २७ खेलबाट ५४ अंक जोडेको छ । पराजित गेटाफे ३६ अंक जोडेर लिगको दशौं स्थानमा छ । बार्सिलोना ६६ अंक जोडेर लिगको शीर्ष स्थानमा र ६१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ ।


