![]()
काठमाडौ,फागुन ।
नेपाली कांग्रेस संसदीय दलको मतदानबाट भोली सोमबार चयन हुँदैछ । सोमबार हुने मतदानको लागि आज उम्मेद्वारी दर्ताको कार्यतालिका छ । नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ । संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे । आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेतामा देउवा उम्मेदवार बन्न नहुने तर्क पौडेल पक्षको छ । तर, संस्थापन पक्ष भने कांग्रेसले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयनका लागि चुनाव गराएर ऐतिहासिक काम गरेको बताउँछ ।
संस्थापन पक्षका नेता सांसद बालकृष्ण खाणले दलको नेतामा देउवा सभापतिको उम्मेदवार बन्ने र उनले दुईतिहाइले जित्ने दावी गरे ।
पौडेल पक्षको शुक्रबार बसेको बैठकले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेता सिंहले निर्वाचनमा पार्टीको खस्केको साखलाई पूर्ववत् अवस्थामा र्पुयाउन र शुद्धीकरण गर्न आफू उम्मेदवार बन्ने बताए ।
यस्तो छ अंकगणित
प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सदस्य छन् । तीमध्ये संस्थापन पक्षमा प्रत्यक्षमा ११ र समानुपातिकमा २८ गरी ३९ सदस्य छन् । पौडेल पक्षसँग प्रत्यक्षमा ९ र समानुपातिकमा ११ गरी २० जना छन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौलातर्फ प्रत्यक्षमा ३ जना सांसद छन् । उद्योगी विनोद चौधरी कतैतर्फ पनि खुलेका छैनन् ।
दलको नेता जित्न बहुमतका लागि ३२ मत आवश्यक पर्छ भने दुईतिहाइका लागि ४२ मत चाहिन्छ । संस्थापनले आफूसँग रहेका ३९ मतमा तीन मत थपेमा दुईतिहाइ पुग्छ । तीमध्ये नेता सिटौलाको पक्षमा रहेका काठमाडौं–६ बाट जितेका भीमसेनदास प्रधानले बिहीबार नै सभापति देउवालाई भेटेर दलको नेतामा मत दिन आश्वासन दिएका छन् । सिटौला पक्षकै बारा–१ बाट जितेका उमाकान्त चौधरी र उद्योगपति विनोद चौधरीले पनि देउवालाई नै मत दिने संस्थापन पक्षको आँकलन छ ।
आज उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन समितिले तोकेको छ । निर्वाचन समितिका अनुसार अपराह्न ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मतदान सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । कांग्रेसले पार्टीका तर्फबाट सांसद निर्वाचित भएकाहरूले संघीय सांसदको शपथ लिएपछि दलको नेता चयन गर्ने बताउँदै आएको छ । कांग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र दलको नेताको निर्वाचन गर्न लागेको जनाएको छ ।
संघीय संसदका सदस्यहरूलाई शपथ ग्रहणको कार्यक्रम आइतबार दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा राखिएको छ ।


