Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उत्पादनमा कमी र भारतबाट आयात हुने बिजुलीमा केही कटौती हुने भए पनि यसपालि हिउँदमा गत वर्षको भन्दा लोडशेडिङ नबढ्ने जनाएको छ ।

भारतीय सर्वोच्च अदालतले प्रदूषण नियन्त्रणका लागि भन्दै पेट्रोकोक र फर्नेस आयलबाट उत्पादित विद्युत्मा रोक लगाउन राज्य सरकारहरुलाई आदेश दिएसँगै करिब ५५ मेगावाट बिजुली भारतबाट आउन रोकिएको थियो । यद्यपि औद्योगिक क्षेत्रमा हुने विद्युत् कटौती भने बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी विद्युत् खपत हुने समयमा झण्डै १५ सय मेगावाट माग रहेको भए पनि हाल ७ सय मेगावाटको हाराहारीमा मात्र आन्तरिक उत्पादन र ३ सय ५० मेगावाटको हाराहारीमा भारतबाट आयात हुँदै आएको छ ।

केही दिन अघि भारतीय सर्वोच्च अदालतले पेट्रोकोक र फर्नेस आयलबाट उत्पादित बिजुलीमा रोक लगाउन राज्य सरकारहरुलाई भनेसँगै टनकपुरबाट आउने ३० मेगावाट र मुजफ्फरपुर ढल्केबरबाट आउने २५ मेगावाट कटौती भएको बताइएको छ । हिउँदमा आन्तरिक उत्पादन समेत घटिरहेका बेला भएको कटौतीले अप्ठेरो परे पनि लोडशेडिङ नबढ्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले भने, “मुख्य शहरहरुमा त हुँदैन नै । तराईमा गत वर्ष २ र ३ घण्टा सम्म भएको थियो, त्यसलाई सुधार गर्ने प्रयासमा छौँ ।“

हिउँदमा औद्योगिक क्षेत्रमा उच्च माग भएका बेला हुँदै आएको विद्युत् कटौतीलाई भने केही बढाउनुपर्ने अवस्था आउन सक्ने जनाइएको छ । हाल तीन घण्टाको दरले हुँदै आएको त्यस्तो कटौती केही घण्टा थप हुने र त्यो आवश्यक परे बिहान पनि लागू गर्नसक्ने प्राधिकरणले तयारी गरेको छ ।

भारतबाट आयात रोकिएको बिजुलीको पनि वैकल्पिक व्यवस्थापनको काम भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए । उनले भने, “किन्नुपर्ने विद्युत् कम भएको हो । हाम्रो खरिद सम्झौता कायम रहेकाले भारतीय पक्षले अर्को उत्पादनको खोजी गरिरहेको छ । त्यो पनि छिट्टै समाधान हुन्छ ।“

चमेलिया जलविद्युत् आयोजनाबाट आगामी महिनासम्ममा विद्युत् थपिने र कुलेखानीबाट उत्पादन हुने बिजुलीले मागलाई व्यवस्थापन गर्ने योजना प्राधिकरणले बनाएको छ ।

भारतको बिहारबाट आयात हुँदै आएको विद्युत् पनि केही बढाउन सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.