![]()
काठमाडौं । सरकारले चिनियाँ कम्पनी गेजुवासँग गरेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणसम्बन्धी सम्झौता खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा भएको सम्झौता खारेज गरेको हो ।
मन्त्रिपरिषद् निर्णयबारे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही नबताएपनि उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले ट्वीट गर्दै निर्णयबारे जानकारी गराएका हुन ।
“अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बूढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशनबमोजिम मन्त्रिपरिषद बैठकले खारेज गरेको छ,“ थापाले ट्विट गरेका छन् ।
बुढीगण्डकी आयोजना एक हजार २०० मेगावाट क्षमताको रहेको छ । संसद्को सार्वजनिक लेखा समिति र कृषि तथा जलस्रोत समितिले सम्झौता पारदर्शी नभएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो ।


