![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले नेता माधवकुमार नेपाल आफनो सात दिने उत्तर कोरियाको भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किनु भएको छ । उत्तर कोरिया र अमेरिकाबीच तनाव चर्किएकाबेला नेत नेपालको उत्तर कोरियाको भ्रमणलाइ लिएर थुप्रै टिप्पणी भएका थिए । शनिवार स्वदेश फर्किनु भएका नेता नेपालले भने आफनो भ्रमणबारे कहिं कतै आलोचना नभएको प्रतिक्रिया दिदै यसबारेमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासंग सल्लाह गरेको दावी गर्नुभएको छ ।
आफूसंगै कांग्रेस नेतृ चित्रलेखा यादव जाने कार्यक्रम भएपनि अन्तिम समयमा आन्तरिक कारणले उहाँ नगएको नेपालले बताउनुभयो । उहाँले आफनो भ्रमणबारे परराष्ट्र मन्त्रालयले कुनै सोधपुछ नगरेको स्पष्ट पार्नुभयो । यसअघि नेता नेपाललाइ उत्तर कोरियाको भ्रमणमा नजान परराष्ट्रले आग्रह गरेको समाचार बाहिर आएको थियो ।
नेता नेपालले उत्तरकोरियामा आफू विश्वमा शान्ति स्थापना हुनुपर्छ भन्ने उद्देश्य बोकेको कार्यक्रममा सहभागि भएको जानकारी दिनुभयो । उहाँले उत्तर कोरियाली सरकारका प्रतिनिधिका साथै त्यहाँका कम्युनिष्ट पार्टीका प्रतिनिधिसँग आफूले बिश्व शान्तिबारे कुरा गरेको समेत बताउनुभयो ।
नेपालले भन्नुभयो, ‘उत्तर कोरियाले बाढी पहिरोको चपेटामा परेका १५ हजार नागरिकलाई तीन महिनामै आवासको व्यवस्था गरेको रहेछ, त्यसबाट नेपालले पनि सिक्नुपर्छ । ’
नेता नेपालसंगै ‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेट’ नामक कार्यक्रममा सहभागि हुन सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा र एकनाथ ढकाल पनि जानु भएको थियो ।


