![]()
रूपन्देही । बिम्सटेक सम्मेलनमा आउने दुई विदेशी राष्ट्र प्रमुख बुद्ध जन्मस्थल लुम्बिनी जाने भएका छन्। भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्सटेक) सम्मेलन अघि र पछि दुई राष्ट्र प्रमुखले लुम्बिनी भ्रमण गर्ने तय भएको हो।
लुम्बिनी विकास कोषका अनुसार सम्मेलन अघि म्यानमार र सम्मेलन सकिएपछि श्रीलंकाका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्नेछन्। म्यानमारका राष्ट्रपति विन मियिन्टले विमस्टेक सुरू हुनुअघि भदौ १३ गते लुम्बिनी भ्रमण गर्ने छन्। श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सम्मेलन सकिएपछि भदौ १६ गते लुम्बिनी भ्रमण गर्ने जानकारी आएको लुम्बिनी विकास कोषले जनाएको छ। दुवै राष्ट्र प्रमुखले लुम्बिनीमा ४/४ घण्टा बिताउने गरी कार्यक्रमको तालिका तय भएको छ।
लुम्बिनीमा दुई मुलुकका राष्ट्रपति आउने भएपछि त्यसको तयारी थालिएको छ। तयारीस्वरुप सडक मर्मत, सरसफाई, तुल व्यानरहरू राख्ने जस्ता काम भइरहेको कोषले जनाएको छ। भ्रमणको समयमा सुरक्षाको सबै व्यवस्थापन नेपाली सेनाले गर्नेछ।


