![]()
विराटनगर ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक कार्यकममा बोल्दै उनले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी राष्ट्रका पर्यटकलाई आकर्षित गरिने योजना सुनाए ।
विराटनगर विमानस्थललाई प्रादेशिकरुपमा विस्तार गरी छिमेकी देशमा हवाई उडान गरी छिमेकी देशका पर्यटकलाई यहाँ ल्याउने लक्ष्यका साथ सरकारले कार्य गरिरहेको उनले उल्लेख गरे ।
उनले प्रदेश मन्त्रिपरिषद् बैठकबाट विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पुर्याउने निर्णय गर्ने जानकारी दिँदै आगामी छ महिनाभित्र विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र अन्य समस्या समाधान गर्ने बताए।


