![]()
महोत्तरी । लगातार गर्मी बढ्न थालेपछि तराईको जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण महोत्तरीमा १ जनाको ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहामा ५ जना बेहोस भएका छन्।
महोत्तरीमा रोपाई गर्न खेतमा गएकी ४० वर्षीया सिकलदेवी सदाको घामले मृत्यु भएको हो । उनीसँगै खेत रोप्न गएका ६० वर्षीया सुन्दरदेवी सदा र ३० वर्षीया किसुनदेवी सदाको अवस्था गम्भीर रहेको छ । धान रोप्न एकै परिवारका ५ महिला पुगेका थिए। गर्मीले ३ जना विरामी भएपछि बाँकी २ महिलाले उनीहरुलाई अस्पताल पुर्याएका थिए। दुई महिलाको अवस्था भने सामान्य छ। महोत्तरीमा तापक्रम ४२ डिग्रीभन्दा माथि पुगेको छ ।
यस्तै, सिरहाको चन्द्र माविमा अध्ययनरत ५ जना विद्यार्थी बेहोस भएका छन्। कक्षामा पढ्दै गरेको अवस्थामा कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन्। उनीहरुको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, सिरहाको जनजीवन पनि कष्टकर बनेको छ। तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ। अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत पूरै प्रभावित भएको छ।

