![]()
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्ष ग्यारेन्टीका साथ टिक्ने दाबी गरेका छन । उद्योग संगठन मोरङको ४६ औं वार्षिक साधारणसभामा बोल्दै दाहालले अस्थिर राजनीतिको अन्त्य भइसकेको उल्लेख गर्दै अब बिगतमा जस्तो सरकार ढाल्ने र बनाउने खेलको पनि समाप्ति भएको बताए ।
अध्यक्ष दाहालले राजनीतिक स्थिरता, शान्ति स्थापना, संविधान लेखन र सुशासनकालागि आफ्नो झण्डै चार दशक बितेको स्मरण गर्दै अबको आफ्नो एक दशक विकास र समृद्धिमा खर्चिने बताए । मुलुकको आर्थिक विकासकालागि निजी क्षेत्रसँगको सहकार्य बिना सम्भव नहुने दाहालको भनाई थियो ।
दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले आगामी वर्षको बजेट भोट बटुल्ने र चकाचक गर्ने नभई मुलुकको अर्थतन्त्रलाई ट्रयाकमा राख्ने गरी ल्याएको उनले दावी गरे । बजेट मुलुकको वास्तविक अर्थतन्त्रमा केन्द्रित रहेको उल्लेख गर्दै दाहालले भने सरकारलाई काल्पनिक बजेट ल्याएर क्षणीक पपुलर बन्नु छैन ।


