![]()
काठमाडौँ। हकप्रद तथा बोनस सेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि मंगलबार सेयर कारोवार ठप्प भएको छ । लगानीकर्ताको अवरोधपछि सेयर ब्रोकरले कुनै कारोबार नगर्दा नेपाल स्टक एक्स्चेन्ज ठप्प भएको हो । सरकारले सेयर कारोबारमा सोमबारदेखि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् ।
लगानीकर्ताले स्टकको कार्यालयमा पुगेर पनि विरोध जनाएका थिए । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले कारोबारमा केही समस्या आएको बताएका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाए ।
सरकारले बोनस र हकप्रद सेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यसअघि ५.५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीगत लाभकर कार्यान्वयनमा देखिएका समस्या मिलाउने बताइसकेका छन् । तर नयाँ प्रावधानबारे केही नबोलेपछि समस्या भएको हो ।
लगानीकर्ताले हकप्रद र बोनसमा अंकित मूल्यलाई आधार बनाएर लाभकर तिर्नुपर्ने प्रावधान खारेज नगरेसम्म आन्दोलन जारी रहने लगानीकर्ताका संगठनले बताएका छन् ।


