![]()
बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई प्रदेश नम्बर १ कारण चिन्ता थपिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री आफनो पार्टीले पाएपनि आकांक्षी बढी भएपछि शीर्ष नेताहरु नै तनावमा परेका हुन ।
प्रदेश १ को मुख्यमन्त्रीका लागि पूर्व संचारमन्त्री शेरधन राई, पूर्व पर्यटन मन्त्री भीम आचार्य र केन्द्रीय सदस्य जीवन घिमिरे प्रतिष्पर्धामा छन । नेता राईले नेताहरुले आफूलाई मुख्यमन्त्रीको बचन दिएकै कारण आफू केन्द्रीय राजनीतिबाट प्रदेशको राजनीतिमा होमिएको बताएका छन । अध्यक्ष केपी शर्मा ओली निकट राई् नेता खनाल र नेपालका लागि पनि प्रिय छन । उनले तीनवटै नेताको समर्थन आफूलाई भएको बताउँदै आएका छन ।
मुख्यमन्त्रीककै दौडमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज भीम आचार्य नेता खनाल निकट मात्र होइन खनालका नातेदार पनि हुन । आचार्य पर्यटन मन्त्री हुँदा खनालसंग सम्बन्ध चिसिएको थियो । परिवार भित्रकै सदस्य र आफनै गुटको भएकाले आचार्यलाई अस्वीकार गर्न खनाललाई सजिलो देखिदैन । पछिल्लो समय खनाल र नेपालको एउटै समूह छ । खनाल निकट नेताहरु स्वतः नेपालको गुटको मानिन्छन ।
मुख्यमन्त्रीमै दाबी प्रस्तुत गरेका जीवन घिमिरे पनि आफूलाई खनाल र नेपाल समूहकै बताउँछन । उनले मुख्यमन्त्रीमा दाबी गरेर मन्त्रीका लागि बार्गेनिङ गरेको एमाले भित्रै चर्चा छ । घिमिरेलाई मिलाउन अफ्ठ्यारो नभएपनि आचार्य र राईका कारण खनाल र नेपाललाई तनाव भएको छ । उता, अध्यक्ष ओलीले भने राई बाहेक अरुलाई आफूले नचिन्ने संकेत दिइसकेका छन । राईका लागि राष्ट्रपति बिद्या भण्डारीले पनि भनसुन गरिरहेको बुझिएको छ । राई प्रदेश नम्बर १ का सह इन्चार्ज पनि हुन ।
महामन्त्रीका प्रत्यासी नेता राई र आचार्यले सहमति नभए चुनावबाटै भएपनि आफू निर्वाचित हुने दाबी गरिरहेका छन । उनीहरु प्रदेशका सदस्यहरुलाई भेट गर्नेदेखि केन्द्रीय नेताहरुलाई आफनो पक्षमा ल्याउन लबिङ गरिरहेका छन ।
यो प्रदेशमा एमालेका ५१ सदस्य रहेका छन् । एमालेको स्थायी कमिटीको बैठकलाई मुख्यमन्त्रीको टुङ्गो लगाउने अधिकार छ । यदी त्यहाँ सर्वसम्मत हुन नसके संसदीय दलभित्र निर्वाचन जित्नु पर्ने हुन्छ । तीनै जना आफ्नो पक्षमा बहुमत भएको दाबी गर्छन् ।


