Breaking News.... EverestOnlineKhabar
May 3, 2026

आज माघे संक्रान्ति, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

Loading

काठमाडौ,माघ ।
चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । माघे संक्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा थारु र मगर समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन् । माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।
हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन् । माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।
आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ । माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिएसरह हुने धर्मशास्त्रमा उल्लेख छ । धर्मसिन्धुमा भनिएको छः‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ ।’
मकर संक्रान्तिको अवसरमा चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा ठूलो मेला लागेको छ ।देवघाटधाममा मेला भर्न देशका विभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट समेत तिर्थालुहरु आउने गर्छन् । आजै थारु समुदायले धुमधामका साथ माघी पर्व मनाउँदैछन् । आजदेखि पाँच दिनसम्म थारु समुदायले माघी पर्व मनाउने गर्छन् । बिहानै जलाशयमा गई स्नान तथा पूजा गरी आफूभन्दा ठूलाबडासँग आशिर्वाद लिने चलन छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी ६ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफल होइने थारु समुदायमा विश्वास छ । आजै खिचडी पकाएर खाने चलन पनि छ । मासको दाल र चामल मिसाएर पकाइने खिचडी, तिलको लड्डु चाकु, तरुलजस्ता खानेकुरा खानाले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता छ ।
यसैबीच, माघे संक्रान्ति पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले देशविदेशमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed