Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौ,माघ ।
एउटै कम्युनिस्ट पार्टी बनाउने भन्दै चुनाव पूर्व गठबन्धन गर्ने दुईवटा कम्युनिस्ट पार्टी अन्ततः पदको भागबन्डा कसरी गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु यतिबेला प्रदेश सभाका पदमा पनि ६० र ४० प्रतिशतको दरले भाग लगाउन सहमत हुने कोसिसमा देखिएका छन् । कम्युनिस्ट गठबन्धनको बहुमत रहेको सातमध्ये ६ वटा प्रदेशमा एमालेबाट ४ र माओवादीबाट दुईवटा प्रदेशको मुख्यमन्त्री बनाउनेमा करिब करिब कुरा मिलिसकेको छ ।
तर, प्रदेश सभाको सभामुख कति कति पाउने भन्ने विषयमा भने अझै कुरा मिलिसकेको देखिँदैन । माओवादी सकभर मुख्यमन्त्री एउटा दलको भए प्रदेश सभामुख अर्को दलको हुनुपर्ने मानसिकतामा देखिन्छ । यसरी हेर्दा माओवादी २ मुख्यमन्त्री र ४ सभामुख लिने तयारीमा छ । एमालेले भने ४ मुख्यमन्त्री र ४ वटै सभामुख आफूले पाउनुपर्ने तर्क अघि सारेको छ ।
यस छलफलमा आएका विषयलाई अब अध्यक्षको तहमा मिलाउने सहमति दुवै दलका नेताबीच भएको छ । एमाले अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणका लागि थाइल्यान्ड गएको कारण उनको फिर्तीपछि यस विषयमा अन्तिम निर्णय हुने एमाले नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
एमाले–माओवादीको कार्यदलले सातवटै प्रदेशको तथ्यांक राखेर कुन दल कहाँ कति बलियो छ भनेर मूल्यांकन गरेको थियो । त्यस अनुसार प्रदेश १ र ३ मा एमाले एक्लैको बहुमत पुग्ने हुनाले माओवादीले ती दुई प्रदेशमा आफ्नो दाबी नै पेस गरेको छैन । बाँकीका चार प्रदेशमध्ये ६ मा माओवादीको प्रभाव राम्रो भएका कारणले उसले दाबी गरेको छ । प्रदेश ४, ५ र ७ मध्ये पहिलो दुईमा एमालेले बढी चासो दिएको छ । तर, यसको अन्तिम निर्णय भने अध्यक्ष तहको संयोजन समितिले गर्नेछ । प्रदेश २ मा भने मधेसवादी दलको संख्या बढी भएकाले कम्युनिस्ट गठबन्धनको भागमा नपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed