Breaking News.... EverestOnlineKhabar
June 27, 2026

संसद बैठकको तयारी तिव्रः प्रतिनिधिसभाको लागि नीलो र राष्ट्रियसभाको लागि रातो कुर्सी

Loading

काठमाडौ,पुस ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकका लागि तयारी तीव्र पारेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्यका लागि बस्ने कुर्सी, टेबल र माइक व्यवस्थापनको काम भइरहेको संसद सचिवालयले जनाएको छ । त्यसबाहेक कर्मचारी, पत्रकार, दर्शकका लागि पनि बस्ने व्यवस्था गरिँदैछ ।
संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले भनेः‘दुईवटै बैठकको व्यवस्थापन गर्ने तयारीकै क्रममा छौं,प्रतिनिधिसभाको बैठक पहिलेकै हलमा बस्नेछ भने राष्ट्रियसभाको बैठक नुप्से हलमा राख्ने तयारीस्वरुप काम भइरहेको छ ।’ कहिलेकाहीँ संयुक्त बैठक पनि बस्नुपर्ने भएकाले प्रतिनिधिसभाको हलमा सिट व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए ।
यसैबीच प्रतिनिधिसभामा कार्पेट, कुर्सीको कभरलगायत नीलो प्रयोग गरिएको छ भने राष्ट्रियसभामा रातो । ‘यसको विशेष अर्थ नभए पनि अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै यस्तो व्यवस्था गरिएको हो, अहिले दुवैतर्फ भौतिक संरचनाको काम भइरहेको छ । अन्तर्राष्ट्रिय प्रचलन नै नीलो र रातो छ । हामीले पनि सोहीअनुसारको रंग प्रयोग गरेका हौं ।’ गौतमले भने ।
उनका अनुसार सभामुख, संसदीय दलको नेता, प्रमुख प्रतिपक्षी दलको नेताको लागि पनि कार्यालय तयार गरिँदैछ । बैठक हलमा आधुनिक खालको माइक र रेकर्डिङको व्यवस्था पनि गरिएको छ । अहिले संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको तयारीका लागि आवश्यक पर्ने पूर्वाधारका लागि ३ करोड ४८ लाख बजेट विनियोजन गरेको छ ।
प्रवक्ता गौतमले भनेः‘ हामीले अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौं, प्रक्रियामा रहेकाले अहिले संसदकै बजेटबाट काम गरिरहेका छौं ।’ त्यसबाहेक संघीय संसद सञ्चालनका लागि वार्षिक १ अर्ब ७० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
‘संसद सदस्यको पारिश्रमिक, कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडा गरेर वार्षिक १ अर्ब ७० करोड खर्च लाग्ने अनुमान गरेका छौं, वार्षिक १० करोड ५८ लाख रुपैयाँ भवनको भाडामात्रै बुझाउनुपर्ने हुन्छ ।’ उनले भने ।
प्रत्येक २–२ वर्षमा पुनः सम्झौता हुनेछ । अहिले कम्तिमा पनि ६ वर्षको लागि आवश्यक पर्ने देखिएकाले त्यो अवधिसम्मका लागि संसद सचिवालयले नै प्रयोग गर्ने जानकारी गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.