![]()
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको जनाएको छ । आयोगले निर्वाचन शान्तिपूर्ण भएको जनाउँदै सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको जानकारी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पत्रकार सम्मेलन गर्दै ३२ वटा जिल्लामा निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिंदै छिटपुट घटनाको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो ।
मतदान सम्पन्न भए लगत्तै सुरक्षित तवरले मतपेटिका जिल्ला सदरमुकाममा ल्याउने काम भइरहेको समेत यादवले जानकारी दिनुभयो । उच्च हिमाली र विकट क्षेत्रका मतपेटिका भने सोमबार मात्रै हेलिकोप्टरबाट सदरमुकाम ल्याइनेछ ।
पहिलो चरणको निर्वाचनका लागि दुवै प्रदेशका े १११ सिटका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा थिए । प्रतिनिधिसभाको ३७ सिटका लागि २८२ र प्रदेशसभाको ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन् । बाँकी ४५ जिल्लामा भने मंसिर २१ गते निर्वाचन हुँदैछ ।
रुकुमको दुईवटा मतदान कन्द्रमा भने पुनः मतदान गरिने भएको छ । मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने छ । यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने छ ।


