Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सिरियाः आइएसको कब्जामा रहेको शहर सेनाको नियन्त्रणमा

Loading

एजेन्सी,१८ कार्तिक ।
सिरियामा अतिवादी समूह इस्लामिक स्टेट कमजोर बन्दै गएको छ । सिरियाली सेना आइएसको कब्जामा रहेको पूर्वी शहर देर–अल–जोरलाई पुनः नियन्त्रणमा लिन सफल भएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमहरुका अनुसार सेनाले आइएस लडाकुलाई उनीहरुको उल्लेख्य उपस्थिति रहेको पूर्वी नगर देर–अल–जोरबाट भगाएको छ ।
सिरियाको सीमापारि इराकको अल क्वेम् नगरमा पनि सरकार समर्थित फौजले आइएसविरुद्ध दबाब बढाएको छ । सिरियाली सरकारी टेलिभिजनका अनुसार देर–अल–जोरलाई सेनाले आइएसको कब्जाबाट मुक्त गरेको छ । इराकसँग सीमा जोडिएको रणनीतिक महत्वको देर–अल–जोरलाई सन् २०१४ मा आइएसले आफ्नो कब्जामा लिएको थियो ।
सीमापारि पर्ने इराकी नगरमा पनि आइएसविरुद्ध कारबाही तीव्र पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्ला केही साता यता देर–अल–जोर प्रान्तबाट करिब ३ लाख ५० हजार गैरसैनिकहरु आफ्ना घर छोडी अन्यत्र जान बाध्य तुल्याइएको थियो ।
देर–अल–जोर आइएसको यसअघिको मुख्यालय मानिने रक्का नगर र इराकी सीमाको बीचमा अवस्थित छ । यो क्षेत्रबाट आइएसले हातहतियार लडाकु र सरसामान ओसार गर्ने गर्दथे ।
सरकारी सेनाले सिरियामा रहेका आइएसलाई पराजित गरे पनि त्यहाँ अब सरकारी फौज र अमेरिका समर्थित कुर्द समूहबीच द्वन्द्व बढ्ने अवस्था रहेको बताइएको छ ।
सिरियाको ठूलो भूभागमा कुर्द समूहको नियन्त्रण कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.