![]()
काठमाडौं । बिजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समाहित भएको छ । धेरै दिनको गृहकार्यपछि अन्ततः प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विजयकुमार गच्छदार नेपाली कांग्रेसमा फर्किएका हुन ।
एकता घोषणा सभामा गच्छदार सुरुमै भक्कानिएका थिए । उनी पार्टी छाडेर गएको क्षण सम्झिँदै भावुक बनेका हुन । गच्छदारले भने, ‘२०६४ सालमा पार्टी छाडेको बेला म बालुवाटारमा नै थिएँ, मैले पार्टी छाड्न लागेको कुरा गिरिजाप्रसाद कोइराला र नोना भाउजुलाई भनेँ । उहाँहरुले नछाड्न भन्नुभएको थियो । म मधेस आन्दोलनमा होमिन्छु । त्यहाँ गएर २ ठाउँबाट चुनाव जितेर आउँछु भनेर भनेँ । पिता समानको नेता गिरिजाप्रसाद कोइरालालाई छाडेर गएको थिएँ । ’
यति भन्दै गर्दा गच्छदारको गला अवरुद्ध भएको थियो ।
गच्छदारले पछिल्लो राजनीतिक परिस्थितिमा कम्युनिष्ट गठबन्धन बनेपछि राजनीतिक ध्रुवीकरण बढेको भन्दै जनवादी संविधान ल्याउने योजना असफल बनाउन आफू कांग्रेसमा आएको बताए ।
गच्छदारले भने, ‘चुनावमा दुई तिहाई ल्याएर जनवादी संविधान बनाउने योजना असफल बनाउन कांग्रेसमा समाहित भएको हुँ यसले पनि मलाई कांग्रेससँगै मिल्न बाध्य बनायो । ’
नेता गच्छदारले फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे
कार्यक्रममा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाउने प्रयास जति गरे पनि कांग्रेस असफल नहुने बताए । देउवाले भने, ‘हामीले गच्छदारजीलाई पहिले पनि कांग्रेसकै नेता मानेका थियौं, अहिले पनि मान्छौं र भोलि पनि मान्छौं, ।’
देउवाले गच्छदार मेहनती नेता भएको भन्दै प्रसंशा पनि गरे ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान विरोधीलाई बेवास्ता गर्दै गच्छदारले संविधान जारी गर्न खेलेको भूमिकाको प्रसंशा गरेका थिए । उनले कांग्रेसले कांग्रेसलाई गर्ने व्यवहार फोरमबाट आएका सबै नेतालाई हुने धारणा राखे ।


