![]()
एजेन्सी,३० असोज ।
इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई ३–२ गोलले हराएको छ । इन्टर मिलानको जितमा कप्तान मौरो इकार्डी नायक बने । कप्तान इकार्डीको उत्कृष्ट ह्याट्रिकमा इन्टर मिलान विजयी भयो । खेलको ९० औं मिनेटमा एसी मिलानका डिफेन्डर रिकार्डो रोड्रिजुजको सानो गल्ती नै हारको कारण बन्यो ।
इन्टर मिलानले पाएको कर्नर किकमा एसी मिलानका डिफेन्डर रोड्रिजुजले ड्यानियल डि अम्ब्रोसियोलाई ट्याकल गर्ने क्रममा डिबक्समा लडाएपछि इन्टर मिलानले पेनाल्टीमार्फत गोल गरेको थियो । पेनाल्टी दिनु पर्ने अवस्था नभएको भन्दै एसी मिलानले आपत्ती जनाएको थियो । विवादास्पथ पेनाल्टीमार्फत कप्तान इकार्डीले ह्याट्रिक गर्दै इन्टर मिलानलाई जिताए । इकार्डीले यो सिजन इन्टर मिलानका लागि ९ गोल गरिसकेका छन् ।
इकार्डीको गोलमा २८ औं मिनेटमा इन्टर मिलानले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफको ५६ औं मिनेटमा एसी मिलानका फर्नेन्डेज सेईले गोल गर्दै बराबरी बनाएका थिए । ६३ औं मिनेटमा इकार्डीले नै गोल गर्दै इन्टर मिलानलाई २–१ को अग्रता दिलाए । ८१ औं मिनेटमा इन्टर मिलानका गोल किपरको गल्तीका कारण खेल २–२ को बराबरी भएको थियो । ९० औं मिनेटमा पेनाल्टीमार्फत इकार्डीले गोल गर्दै इन्टर मिलानलाई जिताए ।
जितसँगै इन्टर मिलान २२ अंकका साथ दोस्रो स्थानमा छ । एसी मिलान १२ अंकका साथ १० औं स्थानमा छ । इन्टर मिलानले सन् २०१० देखि अहिलेसम्म सिरी ए जित्न सकेको छैन ।


