![]()
२०७६ फागुन ०२, काठमाडौँ – सहकर्मी महिला प्रहरीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफैलाई गोली हानेको आशंका गरिएको छ । शुक्रबार बिहान रायले आफैलाई पेटमा गोली हानेका थिए । सिन्धुलीमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि काठमाडौँ पठाइएको एसपी रञ्जु सिग्देलले जानकारी दिइन् । श्रोतका अनुसार रायले सहकर्मी महिला प्रहरीलाई प्रेम प्रस्ताव राखेका थिए । तर प्रेम प्रस्ताव अस्वीकृत भएपछि आवेशमा आएका उनले आफैलाई गोली ठोकेको बताइएको छ ।
यसबारे एसपी सिग्देल भनिन् ‘अहिले नै केही भन्न सकिन्न । घाइते जवानले यसबारे केही भनेका छैनन्, हामीले उपचारका लागि काठमाडौँ पठाएका छौँ ।’ घटनाको आवश्यक अनुसन्धान सुरु भएको उनले जानकारी दिइन् । यो घटना जिल्ला प्रशासन कार्यालयको गेटमा भएको हो । घाइते जवान बोल्न सक्ने अवस्थामै नरहेका कारण किन उनले आफैलाई गोली हाने भन्ने बारे खुल्न नसकेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।


