Breaking News.... EverestOnlineKhabar
July 26, 2026

१ रुपैयाँको नयाँ सिक्कामा ‘चुच्चे नक्सा’ र आकाश भैरवको चित्र राखिने, तौल र लागत पनि घट्ने

Loading

काठमाडौं ।

सरकारले एक रुपैयाँको सिक्कामा नेपालको अध्यावधिक ‘चुच्चे नक्सा’ र सांस्कृतिक धरोहर आकाश भैरवको चित्र समावेश गरेर नयाँ डिजाइन तयार पारेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, नयाँ सिक्काको उक्त डिजाइन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भई अर्थ मन्त्रालय हुँदै औपचारिक कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक पुगिसकेको छ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको ऐतिहासिक घार गुम्बाको तस्वीर राखेर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो। तर, सरकारले उक्त प्रस्ताव परिमार्जन गरी नयाँ सांस्कृतिक तथा राष्ट्रिय पहिचान झल्किने डिजाइन ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिँदै फिर्ता पठाएको थियो। सोही निर्देशनबमोजिम नयाँ ढाँचा तयार पारिएको हो।

चुच्चे नक्सा यथावत्, तौल र लागत घटाइने

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ बन्ने सिक्कामा नेपालको अध्यावधिक चुच्चे नक्सा नहट्ने स्पष्ट पारिएको छ। साथै, हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का बनाउन सो सिक्काको अंकित मूल्यभन्दा बढी खर्च भइरहेकाले यसको तौल, आकार र धातुमा परिमार्जन गर्न लागिएको छ।

“अहिले भइरहेको सिक्कामा मिश्रित धातु प्रयोग गरिएको छ, जसले गर्दा उत्पादन लागत बढी पर्छ। अब त्यसलाई परिवर्तन गरेर शुद्ध स्टिल मात्र प्रयोग गर्न लागिएको हो,” प्रवक्ता पौडेलले भने— “यसले सिक्काको उत्पादन मूल्य घटाउनुका साथै वातावरणीय दृष्टिकोणले पनि यो उत्कृष्ट हुनेछ।”

६४ योगिनीको प्रतीक र सांस्कृतिक महत्त्व

नेपाली सिक्काहरूमा कुँदिने आकृति तथा चिह्नहरूको छुट्टै ऐतिहासिक र सांस्कृतिक महत्त्व रहने गर्दछ। नयाँ सिक्काको घेरामा रहने ६४ वटा थोप्लालाई सनातन परम्परा अनुसार ६४ योगिनीको प्रतीक मानिन्छ।

सिक्कामा प्रयोग हुने सांस्कृतिक तथा रणनीतिक प्रतीकहरूले देशको इतिहास र पहिचानलाई जोगाइराख्ने भएकाले सरकारको निर्णय अनुसार नै सिक्काको अन्तिम स्वरूप तय हुने राष्ट्र बैंकले जनाएको छ। मन्त्रिपरिषद्बाट डिजाइन स्वीकृत भइसकेकाले छिट्टै नयाँ स्वरूपको १ रुपैयाँको सिक्का बजारमा ल्याउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed