![]()
एभरेस्ट अनलाइन खबर (everestonlinekhabar.com)
सुनसरी, १५ साउन (२०८३)
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडप तथा गोलीकाण्डका क्रममा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार मध्यराति सरकार र पीडित पक्षबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार सरकारले मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, दुवै मृतकका परिवारलाई प्रतिपरिवार रु. १० लाखका दरले राहत रकम उपलब्ध गराइने र परिवारका एक/एक जना योग्य सदस्यलाई रोजगारीको व्यवस्था गरिने सम्झौता भएको छ।
सहमतिका मुख्य ७ बुँदाहरू:
सहिद घोषणा प्रक्रिया: १..मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्न सरकारले तत्काल कानुनी प्रक्रिया अगाडि बढाउने।
२.प्रतिपरिवार रु. १० लाख राहत: मृतकका परिवारलाई राहत स्वरूप सरकारको तर्फबाट जनही रु. १० लाख उपलब्ध गराउने।
३.रोजगारीको व्यवस्था: दुवै मृतकका परिवारका एक/एक जना योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने।
४.निष्पक्ष छानबिन र कारबाही: घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गर्ने।
५.मदरसाको छानबिन: देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत र सञ्चालन सम्बन्धमा तत्काल छानबिन अघि बढाउने।
६.प्रतिवेदन कार्यान्वयन: गठित छानबिन समितिले बुझाउने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने।
७.स्मृति पार्क निर्माण: मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाभित्र उपयुक्त स्थानमा स्मृति पार्क (उद्यान) निर्माण गर्ने।
सम्झौतापत्रमा पीडित परिवारका तर्फबाट ओमप्रकाशका अभिभावक तथा जयप्रकाशका अभिभावक नरेश मेहता र नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ।
सरकारसँग सम्झौता भएसँगै विगत केही दिनदेखि तनावग्रस्त बनेको क्षेत्रमा स्थिति सामान्य बनाउन र सद्भाव कायम राख्न मद्दत पुग्ने विश्वास लिइएको छ। सहमतिपछि मृतकद्वयको आजै धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिने तयारी रहेको छ।
— everestonlinekhabar.com को विशेष समाचार


