![]()
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रार कार्यालयका दुई उपसचिवसहित १२ जनालाई ७० करोड बराबरको सेयर नामसारीमा कीर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको छ। अख्तियारले मंगलबार विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको सेयर नामसारीमा कीर्ते भएको भन्दै अख्तियारले कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार (उपसचिव) गंगाधर पौडेल र धर्मराज रोकायालाई मुख्य अभियुक्तको रुपमा मुद्दा दायर गरेको हो।
भदौ २१ गत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शंकर इलेक्ट्रिकको सेयर बेचबिखनमा कीर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकृत, सहायक रजिस्ट्रारसहित १२ जनालाई पक्राउ गरेको थियो। तत्कालीन समयमा फरार उपसचिवद्वय असोज ११ गते पक्राउ परेका थिए।
अख्तियारले उपरजिस्ट्रारसहित सहायक रजिस्ट्रार नारायणप्रसाद पोखरेल, कर्मचारीहरु जितबहादुर मगर, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राई समेतलाई विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारको आरोपपत्रमा राष्ट्रसेवक कर्मचारीहरूसँग मिलेमतो गरी मतियारको भूमिका निर्वाह गरेको भन्दै जितबहादुर मगर, राजनप्रसाद लम्साल, पुण्यप्रसाद खरेल, निरजकुमार मानन्धर र प्रकाशविक्रम मिश्रलाई पनि भ्रष्टाचार मुद्दा दायर गरिएको उल्लेख छ।
कर्मचारीको मिलेमतो र संलग्नतामा शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिका एकल सञ्चालक राम निरञ्जन जटियाको गलत लिखत तयार गरी अर्कै व्यक्तिको नाममा सेयर हस्तान्तरण गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
रजिस्ट्रारलाई सम्बोधन गरी कम्पनी निर्देशिका २०७२ को अनुसूची १ को दफा ११ सँग सम्बन्धित नमुना निवेदन दिनुपर्ने व्यवस्था रहेकोमा सो अनुसार निवेदन नलिएको, कम्पनीबाट भएको साधारणसभा लगायतका कागजातहरूमा कम्पनीको नाम समेत फरक पारेको, तथ्य समेतलाई बेवास्ता गरी उनीहरुले अर्को व्यक्तिको नाममा नामसारी गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद, जरिवाना र बिगो असुल हुनुपर्ने जनाएको छ।
सेयर कीर्तेको उजुरीमा छानबिन गर्दा विदेशमा रहेका जटियाको सेयर नेपालमा नामसारी भएको तथ्य खुलेको थियो। लगत्तै अख्तियारले कम्पनी रजिस्ट्रारका अधिकृतहरु नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटरमा रजिस्ट्रेसन गर्ने प्राविधिक शाखाका कर्मचारी आशिष महर्जन र पुष्पकला राई, मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौंका निरजकुमार मानन्धर, रामेछापका जितबहादुर मगर, काभ्रेका पुण्यप्रसाद खरेल, काभ्रेकै साइँला भन्ने राजकुमार तामाङ, हिमाल महर्जन, काठमाडौंका चिरिबाबु महर्जन र बाराका अमृत थापा मगर पक्राउ परेका थिए।
दुई उपरजिस्ट्रार भने एक दिनपछि पक्राउ परेका थिए। उनीहरुले अख्तियारविरुद्ध सर्वोच्चसम्म पुगेका थिए। तर, सर्वोच्चले अख्तियारले गरिरहेको अनुसन्धानमा हस्तक्षेप गर्न अस्वीकार गरेको थियो।
असोज १५ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो। सर्वोच्चको संयुक्त इजलासले कीर्ते र भ्रष्टाचारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको भन्दै रिट खारेज गर्ने फैसला गरेको थियो।
भारतीय नागरिक रामनिरञ्जन जटियाको नाममा रहेको सम्पत्ति नियमविपरीत बेचबिखन र नामसारीमा उनीहरुले सघाउँदै आएका थिए। कम्पनी रजिस्ट्रार पौडेल कार्यालयका गुनासो सुन्ने अधिकारी र रोकाय सूचना अधिकारीको जिम्मेवारीमा रहेका थिए।


