![]()
कञ्चनपुर । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद १६ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । दुई चरणमा उनीहरुको डीएनए परीक्षण गरिनेछ । यसअघि प्रहरीले झण्डै डेढ साताअघि ४ जनाको डीएनए परीक्षणका लागि रगत संकलन गरेर केन्द्रीय प्रयोशालामा पठाएको थियो । उनीहरुको नतिजा मेल खाएको थिएन ।
निर्मला हत्या प्रकरणमा यसअघि दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, स्थानीय आयुश विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, निर्मलाको शरीरमा भेटिएको ‘स्पर्म’सँग उनीहरुको डीएनए ‘म्याच’ गरेन ।
कतिपय प्रहरी अधिकारीले निर्मला हत्यामा चिनजानकै व्यक्तिको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्दै आएका छन् । प्रहरीले प्रविधिको प्रयोग गर्दैै निर्मला हत्याकाण्डको अनुसन्धान जारी राखेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरमै छ ।
कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतका अनुसार गएको कात्तिक २५ गतेबाट धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं पठाइएको छ । उनको उपचार खर्च सरकारले व्यहोर्नेछ । समाचार तयार पार्दासम्म सडक मार्गबाट काठमाडौं ल्याइँदै गरेका निर्मलाका बुबासहितको टोली काठमाडौं आइपुगेको छैन ।
धर्नामै बसेका बेला असामान्य व्यवहार देखाएपछि पन्तलाई काठमाडौं ल्याइएको छ ।


