![]()
सुनसरी । अज्ञात समूहले सुनसरीको दुहबीमा एक जनालाई गोली हानी हत्या गरेको छ । दुहबी नगरपालिका ९ घर भई स्थानीय जय बाबा इँटा उद्योगमा कार्यरत ५४ वर्षीय मो. फिदा हुसेनको हत्या भएको हो । बिहान घुम्न निस्केका हुसेनलाई पछाडीबाट मोटरसाइकलमा आएका दुई जनाले प्रहार गरेको गोली लागेर घाइते भएका थिए । मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनलाई गोली हानेको थियो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कसले र किन गोली हानेको बारे अहिले प्रहरीले गम्भीरता पूर्वक अनुसन्धान गरिरहेको छ । हुसेनको हत्या विरोधमा स्थानीयबासीले दुहबी बजारमा सडकमा टायर बालेर आन्दोलन सुरु गरेका छन् । दुहबीको अवस्था तनाव ग्रस्त छ । एकातिर प्रहरी र अर्कोतिर स्थानीयबासी आमुनेसामुने रहेका छन । स्थानीयबासीले तत्काल हत्यारा पत्ता लगाई कानूनी कारबाहीको माग गरेका छन ।
पटक पटक मुस्लिम समुदायका व्यक्तिलाई गोली हानेर हत्या भइरहेको प्रति मुस्लिम समुदाय आक्रोशित भएका छन् । उनीहरुको आन्दोलनले विराटनगर इटहरी सडकखण्डमा सवारी साधन चल्न सकेको छैन ।


