![]()
काठमाडौँ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको १२ वर्ष पुगेको छ । तत्कालीन माओवादी र सरकारबिच शान्ति सम्झौतामा हस्ताक्षर भएर औपचारिक रुपमा सशस्त्र युद्ध अन्त्य भएको घोषणाको १२ वर्ष बित्दा पनि त्यसले दिएका चोटहरु अझै निको हुन सकेका छैनन् । सम्झौता लगत्तै गर्ने भनिएका कामहरुले गति लिन सकेका छैनन् ।
२०६३ मंसिर पाँच गते भएको शान्ति सम्झौताले २०६२/६३ को आन्दोलनको मर्म अनुसार युद्ध अन्त्य भएको घोषणा तथा माओवादीलाई युद्धबाट शान्तिपूर्ण राजनीतिको बाटोमा ल्याएको थियो । माओवादी त्यसपछि पटक पटक सत्तामा आयो, तर युद्धको चपेटामा रहेका द्वन्द्व पीडितको घाउ अझै पूर्ण रुपमा निको पार्न सकेको छैन । द्वन्द्व पीडितहरु आफूहरु बेवास्तामा परेको बताउँछन् ।
द्वन्द्वको क्रममा बेपत्ता भएका तीन हजार भन्दा बढीको अवस्था अहिलेसम्म थाहा छैन । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार सुरुमा ३१ सय ९७ जना बेपत्ता रहेको भनेर उजुरी परेको थियो । त्यसमध्ये २५ सय १२ उजुरीमा विस्तृत छानबिन गर्नु पर्ने देखिएकोमा ५५ जिल्लाका १६ सय ८३ उजुरीमा छानबिन सकिएको र अहिले ५६ औँ जिल्ला बर्दियाका चार ठाउँमा २५५ उजुरीका सम्बन्धमा अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।
सबै ७७ जिल्लामा अध्ययन गरेर आफूले प्रतिवेदन सार्वजनिक गर्ने आयोगले जानकारी दियो । माओवादी र सरकारबिच भएको शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए ।


