![]()
काठमाडौं । संकटा क्लबले सोमबार ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबमाथि २-० को विजय हासिल गरेको छ । १८ मिनेटपछि दश खेलाडीमा सीमित बने पनि संकटाले खेल नियन्त्रणमा राखेको थियो । सेड्रिक अबाले ५७ औं मिनेटमा संकटालाई अग्रता दिए । सुबास गुरूङले दायाँ भागबाट दिएको पासलाई पेनाल्टी क्षेत्रमा कसैको निगरानीमा नरहेका सेड्रिक अबाले पोष्ट्को दिशा दिएका थिए । अवाले नै खेल सकिन ५ मिनेट बाँकी छँदा अर्को गोल थप्दै संकटाको जित पक्का गरे ।
जितसँगै ६ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । समान ६ अंक भए पनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ भने मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ । संकटाले पहिलो खेलमा सरस्वती युवा क्लबलाई १-० ले हराएको थियो । जावलाखेल नेपाल पुलिस क्लबसँग १-० ले पराजित भएको थिए ।


