![]()
काठमाडौं । चिकित्सा शिक्षा विधेयकमाथिको छलफल पुन: पछि धकेलिएको छ । कांग्रेस सांसदहरुको कार्यव्यस्तताका कारण विधेयकमाथि आगामी साताबाट मात्रै छलफल हुने भएको छ । यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत चिकित्सा शिक्षा विधेयक माथि छलफल गर्न बनेको उपसमितिले आइतबारबाट संशोधनकर्ता र सरोकारवालाहरुसँग छलफल गर्ने जनाएको थियो ।
कांग्रेस सांसदहरु पार्टीको काममा जिल्ला जानुपर्ने भएका कारण केही दिनका लागि छलफल सारिएको हो । कात्तिक १५ गते तोकिएको उपसमितिको बैठकमा गणपुरक संख्या नपुगेपछि मंसिर २ गतेसम्मका लागि स्थगित गरिएको थियो । आज बसेको बैठकले मंसिर ९ गतेबाट छलफल थालेर विधेयक संसदमा पठाउने निर्णय गरेको हो ।
हिउँदे सत्रको संसदको पहिलो बैठकमा चिकित्सा शिक्षा विधेयक टेबल गराउने गरी प्रतिवेदन तयार पार्ने निर्णय भएको जनाइएको छ । उपसमितिको बैठकले संयोजक समेत चयन गरेको छ । सांसद भैरवबहादुर सिंहलाई संयोजक चयन गरिएको हो । चिकित्सा शिक्षा विधेयकमाथि संशोधनकर्ता र सरोकारवालाहरुसँग छलफल गरी प्रतिवेदन तयार पार्न संसदीय समितिले उपसमितिले गठन गरेको छ । जसमा सांसदहरु सिंह, भट्टराई, अञ्जना विंशेखे, सन्तकुमार थारु, हितबहादुर तामाङ, उमाकान्त चौधरी, गगन थापा, चित्रलेखा यादव, खगराज अधिकारी र एकवाल मियाँ सदस्य छन् । चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै आन्दोलनरत डा. केसीले विधेयक संसदबाट पास गर्न ढिलाइ भए पुन: अनशन बस्ने चेतावनी दिदैं आउनु भएको छ ।


