![]()
कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी सवार गाडीले कैलालीको गौरीगंगा नगरपालिका – ८ बडैपुरमा मोटरसाइकललाई ठक्कर दिँदा जिपका चालकसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर छ।
तीव्रगतिमा पूर्वबाट पश्चिम हुइँकिएको मन्त्री सवार बा २ झ २१२५ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको से ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। गाडीको ठक्करबाट मोटरसाइकल चालक बडैपुरका स्थानीय २५ वर्षीय सुरेन्द्र चन्द र त्यसमा सवार २२ वर्षीय भरत बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको र उनलाइ धनगढीबाट काठमाडौं रेफर गरिएको छ। मन्त्रीसवार गाडीका चालक गजेन्द्र शाह पनि दुर्घटनामा सामान्य घाइते भएको र उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा मन्त्री सोडारी भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटना पछि मन्त्री सोडारीले घाइतेको वेवास्ता गर्दे भाग्न खोजेपछि स्थानीयवासी र मन्त्रीबीच चर्काचर्की भएको थियो।


