Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

धनुषा । तराई मधेस तथा मिथिलाञ्चलवासीको महत्वपूर्ण पर्व छठको घरघरमा जोडतोडले तयारी चल्दै छ । आराध्य देव सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवतरुपमा शुरु हुन्छ ।
छठ पूजा तराई मधेशमा बस्ने मैथिली भाषी मधेशी हिन्दू समुदायको मुख्य पर्व हो तर पछिल्लो समय छठ पर्व मधेशी तथा पहाडी समुदायको प्रेम र सद्भावको साझा पर्वका रुपमा विकसित हुँदै गएको छ । मधेशका जिल्लाहरुमा मनाइने गरिएको पर्व राजधानी काठमाण्डौं तथा पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरुमा समेत धुमधामसँग मनाउन थालिएपछि यो पर्व धार्मिक सद्भावका रुपमा स्थापित हुँदै गएको छ ।
विशेषगरी पूर्वीका मधेशका समुदायले मात्र अंगालिरहेको छठपर्व हाल आएर पहाडी, नेवार, जनजाति लगायत मुस्लिम समुदायमा समेत लोकप्रिय बन्दै गएको छ । नियम निष्ठा र विधिपूर्वक मनाइने साझा सांस्कृतिको रूपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरूको जोहो र किनमेल गर्न सर्वसाधारण अहिले व्यस्त छन् ।
बाँसका डाला, नाङ्लो, ढाकि, कनसुप्ती र माटोको सामग्री लगायत छठ पर्वमा आवश्यक पर्ने केरा, नारिवल, सख्खर किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् । मुख्यतः सन्तान प्राप्ती, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगा, धनुष, अंगराज, महराज, अग्नीकुण्ड, रत्नसागर, बाल्मीकि सागर लगायतका दर्जनौं पोखरी र सरोवरहरूलाई विभिन्न संघ संस्था र युवा क्लवहरूले सरसफाई गरी बिजुली, पण्डाल लगायतका व्यवस्था गर्न व्यस्त छन् ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्मापन हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed