![]()
बीबीसी । धर्मनिन्दासम्बन्धी आरोपबाट हालै सफाइ पाएकी पाकिस्तानी इसाई महिला आसियाले बीबी जेलबाट रिहा भएकी छन्। आठ वर्षदेखि जेलसजाय काट्दै आएकी आसिया बीबीविरुद्धको मृत्युदण्डको सजाय गत हप्ता सर्वोच्च अदालतले उल्टाइदिएको थियो।
केही रिपोर्टहरूका अनुसार आसिया बीबी रावलपिण्डीस्थित हवाईअखडाबाट विमानमा उडेकी छन्। तर उनले पाकिस्तान छाडे वा नछाडेको स्पष्ट हुन सकेको छैन। आसिया बीबीलाई मुल्तानस्थित एउटा जेलबाट रिहा गरिएको उनका वकिल सैफ उल मलुकले बताएका छन्।
यसअघि आफूहरूको ज्यानलाई खतरा रहेको भन्दै आसिया बीबीका श्रीमान्ले शरणका लागि केही देशसँग अपील गरेका थिए। पाँच सन्तानकी आमा आसिया बीबीलाई सन् २०१० मा छिमेकीसँगको झगडाका क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै दोषी ठहर गरिएको थियो।
कैयौँ देशले आसिया बीबीको परिवारलाई शरण दिने प्रस्ताव गरेका छन्। पाकिस्तान सरकारले हिंसात्मक प्रदर्शनहरू रोक्न आसिया बीबीलाई देश छाड्न नदिन आवश्यक कदम चाल्ने बताएको थियो।
कट्टरपन्थी प्रदर्शनकारीहरू ईशनिन्दासम्बन्धी कडा कानूनको पक्षमा छन् र आसिया बीबीलाई मृत्युदण्ड दिनुपर्ने उनीहरूको माग छ। एक इस्लामवादी नेताले आसिया बीबीलाई सफाइ दिने तीनजना न्यायाधीशहरूलाई पनि ‘मार्नुपर्ने’ बताएका छन्।


