![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट बर्खास्त गरेका छन्। ट्वीट गर्दै ट्रम्पले भनेका छन्, “हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौँ र उनको राम्रो होओस् भन्ने कामना गर्दछौँ।”
ह्वाइट हाउसलाई चिन्तित बनाएको अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियाबाट आफूलाई अलग्ग्याएपपछि कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक-पटक आलोचना गर्दै आएका थिए। तत्कालका लागि सेसन्सको स्थान उनका वरिष्ठ सहयोगी ‘चिफ अफ स्टाफ’ म्याथ्यु ह्वीटेकरले लिनेछन्।
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मस्कोको आरोपित हस्तक्षेपबारेको अनुसन्धानको ह्वीटेकरले आलोचना गर्दै आएका छन्। राजीनामापत्रमा सेसन्सले महान्यायाधिवक्ता पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका छन्।
अलाबामा राज्यका पूर्वसिनेटर सेसन्सले राष्ट्रपति ट्रम्पलाई शुरुमै समर्थन गरेका थिए। मिति उल्लेख नगरिएको आफ्नो राजीनामापत्रमा सेसन्सले लेखेका छन्, “प्रिय राष्ट्रपति महोदय, तपाईँको आग्रहमा म आफ्नो पदबाट राजीनामा दिँदैछु।”
ट्रम्पलाई धन्यवाद दिँदै सेसन्सले थपेका छन्, “सबैभन्दा महत्त्वपूर्ण कुरा म महान्यायाधिवक्ता पदमा रहँदा हामीले विधिको शासन पुनर्स्थापित गर्न सक्यौँ र त्यसलाई कायम गर्न सक्यौँ।”


