Breaking News.... EverestOnlineKhabar
July 2, 2026

आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले चीनलाई हरायो

Loading

एजेन्सी । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई हराएको छ । नेपालले चीनलाई ५० रनले पराजित गरेको हो ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चीन १८ ओभरमा २ बलमा अलआउट हुँदै ५२ रनमा समेटियो । नेपालको कसिलो बलिङमा चीनका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् ।

चीनले १० ओभरको समाप्तिमा ६ विकेट गुमाएर मात्र २५ रन बनाएको थियो । चीनका लागि हान लिलिले १५, कोयायुन झौले १० र जाङ याङलिङले ९ रन बनाए पनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । चीनलाई सस्तैमा समेट्न वुमन अफ दि म्याच बनेकी सबनम राई र कप्तान रुविना क्षेत्रीले समान ३–३ विकेट लिए । त्यस्तै, सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०२ रन बनाएको थियो । चीनविरुद्ध नेपालले खराब सुरुवात गरेको थियो । नेपालले मात्र २० रन जोड्दा दुई ओपनर सीता राना मगर र ज्योती पाण्डेलाई गुमाएको थियो । सीता ४ रनमा आउट भइन् भने ज्योतीले ९ रन जोडिन् । तर, पुछारमा ब्याटिङ गर्न आएका नेपालकी कप्तान रुविना क्षेत्रीले अविजित १८ तथा मध्यक्रमकी ब्याट्सवुमन काजल श्रेष्ठले १६ र नेरी थापाले ११ रन बनाएपछि नेपालको सम्मानजनक स्कोर बनेको थियो ।

नेपालकी सरिता मगरले ८, इन्दु बर्मा र रिता कुमारी कनुजियाले समान ६–६ रन जोड्दा रोमा थापा ३ रनमा पेभेलियन फर्किइन् । करुणा भण्डारी २ रनमा अविजित रहिन् ।

अन्तिम खेलमा चीनमाथि जित निकालेपनि नेपाल नेदरल्याण्डमा हुने विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न सकेन । अब नेपालले तेस्रो स्थानको लागि सोमबार थाइल्याण्ड र हङकङमध्ये एक टोलीसँग खेल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed