![]()
काठमाडौ,२० जेठ ।
निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन गराउने तयारी सुरु गरेको छ । संविधानको धारा २२० अनुसार नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र समिति बनिसक्नुपर्छ । गाउँ र नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख समितिका सदस्य हुन्छन् । जिल्ला सभाले एक प्रमुख, एक उपप्रमुख, कम्तिमा तीन महिला र कम्तिमा एक दलित वा अल्पसंख्यकसहित ६ देखि ९ सदस्यीय समिति चुन्छ ।
सम्बन्धित जिल्लाभित्रको गाउँ र नगरसभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य उम्मेदवार हुन सक्छन् । गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समितिको नेतृत्व छान्छन् । निर्वाचितको पुरानो पद स्वतः रिक्त हुन्छ । रिक्त पदमा फेरि निर्वाचनको कुनै व्यवस्था नभएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने काम यो समितिको हुनेछ । विकास तथा निर्माणसम्बन्धी कार्यको अनुगमन गर्ने र जिल्लामा रहने संघीय र प्रदेशअन्तर्गतका सरकारी कार्यालय र गाउँ र नगरपालिकाबीच समन्वय यसको क्षेत्राधिकारभित्र पर्छ ।


