![]()
एजेन्सी,२८ बैशाख ।
अमेरिका र उत्तर कोरियाबीचको तनावले विश्वलाई नै चिन्तित तुल्याएको छ । पछिल्लो समय दुबै मुलुक शक्ति प्रदर्शन र धम्कीको भाषामा जोड दिइरहेबाट विश्वमा तनाव बढ्दै गएको छ । यसैबीच अमेरिकी गुप्तचर अधिकारीहरुले उत्तर कोरियाद्वारा अन्तरिक्षबाटै अमेरिकामाथि हमला हुन सक्ने आशंका जनाएका छन् ।
उत्तर कोरियाको पूर्ण सामरिक शक्ति विश्वजगतमा प्रष्ट नभए पनि उसका केही गतिविधि र चुहावट भएका केही सूचनाको आधारमा अमेरिकी गुप्तचरले यस्तो आशंका व्यक्त गरेका हुन् ।
स्रोतका अनुसार उत्तर कोरियाले इलेक्ट्रोनिक पल्स हतियारलाई अमेरिकाविरुद्ध प्रयोग गर्ने सम्भावना अत्यधिक रहेको छ । यसका लागि व्यापक तयारी भइरहेको पनि अमेरिकी गुप्तचरहरुको दाबी छ । उत्तर कोरियाका दुई उपग्रहले अन्तरिक्षबाटै अमेरिकामाथि निगरानी गरिरहेको बताइएको छ ।
सन् २०१२ र २०१६ मा अन्तरिक्षमा पठाइएका उत्तर कोरियाका ती दुई उपग्रहले पृथ्वीको परिक्रमा ९४ मिनेटमै गर्न सक्छन् । ती दुबै उपग्रहका माध्यमबाट उत्तर कोरियाले अन्तरिक्षमै हाइ अल्टिच्यूड परमाणु हतियार विस्फोट गराएर अमेरिकामाथि साइबर हमला गर्न सक्ने अमेरिकी गुप्तचरको आशंका छ । यसरी साइबर हमला गरेर अमेरिकाको रक्षा प्रणाली ध्वस्त पार्ने उसको योजना रहेको पनि अमेरिकी अधिकारी बताउँछन् ।


