![]()
मस्को,२७ बैशाख ।
दोस्रो विश्वयुद्धमा जर्मनीको नाजी सेनामाथि विजय प्राप्त गरेको ७२ औं वार्षिकोत्सव रुसले धुमधामका साथ मनाएको छ ।जर्मनीमाथि जित हासिल गरेको सोही दिनको सम्झनामा मंगलबार रुसले‘भिक्ट्री डे’ बनाएको हो । भिक्ट्री डे का अवसरमा शक्ति प्रदर्शन गर्ने तयारीमा रहेको रुसी सेनाका लागि मंगलबार प्रतिकुल मौसम चुनौती बनेको थियो । तर प्रविधि र सैन्य क्षमताकै बलमा रुसले मौसमको प्रतिकुलतालाई पनि हटाएर शक्ति प्रदर्शन गरेको छ ।
रुसी वायुसेनाको एक टोलीले सैन्य विमानमार्फत आकाशमा विशेष रसायन उडाएर कालो बादल हटाएको थियो । वर्षा हुनै लागेको बादल हटाएर रुसले उक्त दिवस मनाएको हो ।
मस्कोको आकाशमा सोमबारदेखि नै बादल मडारिएको थियो । मौसमविदले मंगलबार वर्षा हुने पूर्वानुमानसमेत गरिसकेका थिए । तर रुसी सेनाको विशेष टोलीले आकाशमा रसायन छर्दै बादल हटाएर सम्भावित वर्षालाई रोकिदियो ।
लगत्तै रुसी सेनाले विशेष परेड आयोजना गरेको थियो । यद्यपि लडाकु विमानको कला प्रदर्शनी भने स्थगित गरिएको थियो ।
सैन्य परेडका क्रममा रुसले आधुनिक क्षेप्यास्त्र समेत प्रदर्शन गरेको थियो । परेडमा रोबोट ट्यांकलाई समेत सामेल गरिएको थियो । रुसको यो हालसम्मकै ठूलो सैन्य परेड मानिएको छ । ८ मे १९४५ मा रुसी सेनासामू हिटलरको नाजी फौजले हार स्वीकार गरेको थियो । सोही दिनबाट दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो । रुसले ९ मेका दिनलाई‘भिक्ट्री डे’ का रुपमा मनाउँदै आएको छ ।


