![]()
काठमाडौ,१६ बैशाख ।
स्थानीय निर्वाचनका लागि नियुक्त म्यादी प्रहरीको युनिफर्मका लागि सरकारले दिएको बजेट बढी भएको पाइएको छ। सरकारले प्रतिम्यादी प्रहरी युनिफर्मका लागि सात हजार एक सय रुपैयाँ दिए पनि उनीहरूले उपत्यकाका आपूर्तिकर्तासित दुई हजार चार सय ५० रुपैयाँमा खरिद गरेका छन्। यही हिसाबले देशभरका ७५ हजार म्याद प्रहरीको युनिफर्म र बन्दोबस्तीमा मात्र राज्यलाई ३४ करोड रुपैयाँभन्दा बढी व्ययभार परेको हो।
म्यादी प्रहरी आफैंले सप्लायरसँग डिल गरेपछि युनिफर्म प्याकेज (सिटी, सिटी कर्ड, बेल्ट, जुत्ता–मोजा, डांग्री र लाठी) कम खर्चमै तयार भएको हो। व्यापारीले उपत्यकाका तीन जिल्लाका म्यादी प्रहरीलाई दुई हजार चार सय ५० रुपैयाँमै युनिफर्म प्याकेज उपलब्ध गराएका छन्।
व्यापारी श्रवणकुमार अग्रवालले काठमाडौं र भक्तपुरको जिम्मा लिएका छन् भने अर्का व्यापारी पुष्कर पराजुलीले ललितपुरको जिम्मा लिएका छन्। यी तीनै जिल्लामा सप्लायरले सामग्री उपलब्ध गराउन सुरु गरिसकेका छन्। काठमाडौंमा म्यादीले युनिफर्म लगाएर काम नै सुरु गरिसकेका छन्।
काठमाडौं, भक्तपुर र ललितपुरमा चार हजार दुई सय ६८ म्यादी प्रहरी परिचालन हुँदैछन्। उनीहरूले सरकारबाट तीन करोड तीन लाख दुई हजार आठ सय रुपैयाँ लिनेछन्। तर एक करोड ४ लाख ५६ हजार ६ सय रुपैयाँमै उनीहरूले ती सामग्री पाएका छन्।
म्यादी प्रहरीको युनिफर्म प्याकेज अन्तर्गत काठमाडौं उपत्यकाको हकमा मात्र राज्यलाई एक करोड ९८ लाख ९६ हजार दुई सय रुपैयाँ अनावश्यक भार परेको छ। प्रहरी प्रधान कार्यालय सामग्री आफैंले खरिद गर्न असमर्थ भएपछि म्यादी प्रहरीलाई नै निश्चित रकम दिएर युनिफर्म प्याकेज खरिद गर्न निर्देशन दिएको थियो।
प्रहरीको नेतृत्व विवादका कारण प्रहरी प्रधान कार्यालयले निर्धारित समयमा टेन्डर आह्वान गर्न सकेको थिएन। सरकारी निकायले सार्वजनिक खरिद ऐनअन्तर्गत १० लाख रुपैयाँभन्दा बढीको सामान खरिद गर्न टेन्डर आह्वान गर्नुपर्छ। म्यादी प्रहरी आफैंले युनिफर्मलगायत आवश्यक सामग्री खरिद गर्नुपर्ने भएपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा म्यादी प्रहरी र सप्लायरबीच युनिफर्म प्याकेजको खरिदमूल्यमा सहमति बनेको थियो।
प्रहरी प्रधान कार्यालयले करिब दुई साताअघि हरेक जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको युनिफर्म प्याकेज खरिदका लागि तीन हजार सात सय रुपैयाँ पठाइसकेको छ। त्यसको केही दिनपछि सरकारले म्यादी प्रहरीलाई सिटी, सिटी कर्ड, बेल्ट, जुत्ता–मोजा, डांग्री र लाठी खरिदका लागि जनही सात हजार एक सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।
म्यादी प्रहरीले सरकारले उपलब्ध गराएको रकमबाट युनिफर्म प्याकेज खरिद गरी बचेको रकम प्राप्त गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरकारले आसन्न स्थानीय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी नियुक्त गरेको छ। ५५ दिनका लागि नियुक्त भएका उनीहरूले प्रहरी जवानसरहको सेवासुविधा प्राप्त गर्नेछन्।


