Breaking News.... EverestOnlineKhabar
March 13, 2026

संशोधन विधेयकमाथि संशोधन दर्ता गर्न तीनदिनको समय

Loading

काठमाडौ,बैशाख ।
संविधानको दोस्रो संशोधन विधेयकमाथि थप संशोधन दर्ता गराउन सभामुख ओनसरी घर्तीमगरले सांसदहरुलाई तीन दिनको समय दिएकी छन्। मधेसी मोर्चाको माग संम्बोधन गरी स्थानीय निकाय निर्वाचनमा सबैलाई सहभागी गराउन सरकारले संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। मोर्चासँगको पछिल्लो सहमतिका आधारमा सरकारले बुधबार साँझ बसेको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेको थियो।
कानुन मन्त्री अजयशंकर नायकले राखेको उक्त प्रस्तावमाथि सांसदहरुले सैद्धान्तिक छलफल पश्चात सभामुख घर्तिमगरले उक्त प्रस्ताव निर्णयार्थ सदनमा पेश गरेकी हुन्। एमालेसँग भएको सहमतिका आधारमा बैठक चले पनि निर्णयार्थ पेश गर्न सदनको आवश्यक गणपुरक संख्या १४९ नपुगेपछि सभामुखले आधा घण्टा बैठक स्थगित गरेकी थिइन्। अपरान्ह ३ सय ४९ जना सांसदले हस्ताक्षर गरे पनि साँझको बैठकमा जम्मा १२८ जनामात्रै उपस्थित थिए।
बुधबार राति तेस्रो पटक बसेको बैठकमा घरघरमा पुगिसकेका सांसदहरुलाई समेत सत्तापक्षका नेता र मन्त्रीले बोलाएपछि उक्त विधेयक बहुमतले स्वीकृत भएको हो। जसको विपक्षमा एमालेसहितका केही साना दल उभिएका थिए। संसदको उक्त निर्णय पश्चात सरकारले सदनमा पेश गरेको विधेयकमाथि विद्यमान संविधान र नियमावली बमोजिम अब ७२ घण्टाभित्र अर्थात शनिबारभित्र संशोधन दर्ता गर्न सांसदहरुले सक्नेछन्।
त्यही अवधिमा मोर्चासँग भएको पछिल्लो सहमतिका आधारमा सत्तारूढ दलका तर्फबाट हालै सरकारले गरेको निर्णय बमोजिम विधेयकमा थप संशोधनको प्रस्ताव दर्ता हुनेछ। सरकार र मोर्चाबीचको समहति बमोजिम उक्त विधेयकलाई सकभर वैशाख १७ गते बस्ने बैठकमा छलफलका लागि पेश गरी छोटो बाटो र गरी तत्काल पारित गर्ने तयारी सरकारले गरिरहेको छ।
तर प्रमुख प्रतिपक्षी दल एमालेलगायत केही साना दलले विधेयकको विरोध गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.