Breaking News.... EverestOnlineKhabar
February 7, 2026

राष्ट्रपति भण्डारीलाई भारतद्वारा विमानस्थलमै अपमान !

Loading

काठमाडौं ४ वैशाख –राजकीय भ्रमणका क्रममा भारत पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि त्यहाँको सरकारले विमानस्थलमै अपमान गरेको परराष्ट्रविद्हरूले टिप्पणी गरेका छन् ।

पाँच दिने भ्रमणका क्रममा सोमवार भारत पुगेकी भण्डारीलाई स्वागत गर्न भारतले कनिष्ट राज्यमन्त्रीलाई विमानस्थल पठाएपछि यस्तो आलोचना शुरु भएको हो ।

राष्ट्रपति भण्डारीको स्वागतका लागि भारतले महिला तथा बालबालिका राज्यमन्त्री कृष्णा राजलाई विमानस्थल पठाएको थियो । त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रका सहप्राध्याक दीपक गजुरेलले कनिष्ट मन्त्रीलाई स्वागतका लागि पठाएर विमानस्थलमै भारतले अपमान गरेको टिप्पणी गरे ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउदा राष्ट्रपति भण्डारी स्वागतका लागि आफैं विमानस्थल पुगेकी थिइन् । ‘राष्ट्रपतिको स्वागतका लागि भारतीय राष्ट्रपति वा प्रधानमन्त्री आउनु पथ्र्यो । नभएपनि बरिष्ठ मन्त्री पठाउनु पथ्र्यो’ गजुरेलले  भने, ‘राष्ट्रपतिको स्वागतका लागि राज्यमन्त्री पठाउनु नेपालको अपमान हो, कुटनीतिक मर्यादा विपरितको कदम हो ।’

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ करीव पाँच महिनाअघि भारत भ्रमणमा जाँदा त्यहाँकी परराष्ट्र मन्त्री सुष्मा स्वराज स्वागतका लागि विमानस्थल पुगेकी थिइन् ।

परराष्ट्र मामिलाका जानकार गजुरेलले भारतले २०४७ सालपछि नेपालका प्रधानमन्त्री, मन्त्री जाँदा अवहेलनापूर्ण व्यवहार गरेको बताए ।

‘आफूले भनेअनुसार गर्दा भारतले प्रोटोकल मिलाउँछ । गिरिजाप्रसाद कोइरालाको स्वागतका लागि मनमोहन सिंह आएका थिए’ गजुरेलले भने, ‘भारत अहिलेका शासकको व्यवहारसँग सन्तुष्ट छैन भन्ने सन्देश पनि हो ।’

नेपालका प्रधानमन्त्री र शासकहरूले हामी भारत भन्दा तल हा भन्ने व्यवहार पटक –पटक दर्शाएका कारण भारतले सधैं कुटनीतिक मर्यादा विपरितका काम गर्ने गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको भदौमा भारत भ्रमणमा जाँदा स्वागतका लागि विदेशमन्त्री शुष्मा स्वराज आफै उपस्थित भएकी थिइन । राष्ट्रपतिलाई स्वागत गर्न आएकी राज्यमन्त्री राज सुष्मा भन्दा कनिष्ठ हुन् ।

मन्त्री आएको भए राम्रो हुन्थ्योः भट्टराई

परराष्ट्रविद् दिनेश भट्टराईले राज्यमन्त्रीको सट्टा मन्त्री नै स्वागतमा आएको भए राम्रै हुने भएपनि यो विषयलाई ‘इस्सु’ बनाउन आवश्यक नरहेको बताए ।

‘मन्त्री र राज्य मन्त्रीमा फरक त परिहाल्छ,’ उनले भने, ‘अब औपचारिक समारोहमा चाहिँ कस्तो स्वागत गरिन्छ त्यो अनुसार विश्लेषण गर्नुपर्दछ ।’ भारतमा सामान्यतया मन्त्रीले विमानस्थलमा स्वागत गर्ने संस्कार भएको समेत बताए ।

राज्यमन्त्री पठाउने चलनै होः राजन भट्टराई

परराष्ट्र मामिलाका जानकार नेकपा एमालेका नेता राजन भट्टराईले नेपालकी राष्ट्रपतिलाई भारतीय राज्यमन्त्रीले स्वागत गरेको विषयलाई ‘इस्सु’ बनाउन नपर्ने बताए ।


सामान्यतया भारतमा मन्त्री वा राज्यमन्त्री अरु राष्ट्रका राष्ट्र प्रमुखको स्वागतमा पठाउने परम्परा रहेकोमा अहिले राज्यमन्त्री जाने चलन रहेको उनले बताए ।

‘केपी ओली जाँदा सुस्मा स्वराज आएकी थिइन, त्यो भन्दाअघि राज्यमन्त्री नै आएका थिए,’ नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका भट्टराईले भने, ‘यसलाई खासै इस्सु बनाउन पर्दैन । बाबुराम भट्टराई जाँदा कर्मचारी पठाइएको थियो । कहिलेकाहीं प्रधानमन्त्री आफैं पनि स्वागतका लागि आउने गरेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.